हेटौंडा । मकवानपुरमा किशोरीहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ। वैशाख २२, २३ र २५ गते सञ्चालन हुने उक्त कार्यक्रमएस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन (EBMf) को आयोजनामा भइरहेको हो।
कार्यक्रम सिआरएन नेपालको आर्थिक सहयोग तथा हेटौंडा ल्याब हाउसको समन्वयमा सञ्चालन गरिएको आयोजकले जनाएको छ। आज पहिलो दिन १५ जना किशोरीहरूको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ।
३ दिनभित्र कुल ३१ जना किशोरीहरूको सम्पूर्ण शारीरिक परीक्षण गरिने योजना रहेको संस्थाका जिल्ला प्रबन्धक बुद्ध वीर लामाले जानकारी दिए।
यस स्वास्थ्य परीक्षण कार्यक्रमको मुख्य उद्देश्य किशोरीहरूको समग्र स्वास्थ्य अवस्था थाहा पाउनु रहेको छ। साथै, शारीरिक तथा मानसिक स्वास्थ्यको अवस्था मूल्याङ्कन गर्नुका साथै सम्भावित रोगहरूको प्रारम्भिक पहिचान गर्न पनि कार्यक्रम केन्द्रित रहेको छ।
कार्यक्रममा अधिकृत सुनिरा लामा ले किशोरीहरूलाई स्वास्थ्य परीक्षणको महत्त्वबारे परामर्श दिएकी थिइन् । उक्त कार्यक्रममा हेटौंडा ल्याब हाउसका म्यानेजिङ डाइरेक्टर सोबिता बानिया ले यस प्रकारको स्वास्थ्य परीक्षणले भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्न सहयोग गर्ने कुरा उल्लेख गरिन ।










