माइती नेपाललाई ७ लाख बराबरका सामग्री हस्तान्तरण

हेटौंडा । मानव बेचबिखनको जोखिममा रहेका तथा बेचबिखन प्रभावित महिला तथा किशोरीहरूलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको माइती नेपाललाई बागमती प्रदेश सामाजिक विकास कार्यालयले करिब ७ लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोग गरेको छ।

बिहीबार माइती नेपालको कार्यालयमा आयोजित एक कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम संयोजक माया लामाले सुरक्षित आभास गृह सञ्चालन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री प्रदान गरिएको जानकारी दिइन्।

हस्तान्तरण गरिएका सामग्रीमा सोफा, कार्यालय फर्निचर, भ्याकुम क्लिनर, कार्पेट, स्पिकर, प्रोजेक्टर, किचन र्याक, फ्रिज, टेलिभिजन, वासिङ मेसिन, ब्ल्याङ्केट, कपडा राख्ने र्याक, किचन फर्निचर, ल्यापटप, टेबल–कुर्सी, सिलाइ मेसिनलगायत सामग्री रहेका छन्।

माइती नेपाल मकवानपुरकी संयोजक माया लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य पाठकले मानव बेचबिखन नियन्त्रण तथा पीडितहरूको संरक्षणमा माइती नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरिन्। उनले संस्थाले मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताइन्। साथै आश्रयमा रहेका किशोरी तथा महिलाहरूलाई सिकेका सीपलाई निरन्तरता दिन आग्रह गरिन्। उक्त सहयोगका लागि आवश्यक बजेट व्यवस्था गर्न आफ्नो पहल रहेको पनि उनले उल्लेख गरिन्।
हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले माइती नेपालले लामो समयदेखि जोखिममा परेका महिला तथा किशोरीहरूको संरक्षण र पुनर्स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरे। उनले आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहकार्य र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
माइती नेपालकी कार्यक्रम संयोजक लामाले संस्थालाई अत्यावश्यक सामग्री उपलब्ध गराएर सरकारले ठूलो सहयोग गरेको बताउँदै धन्यवाद व्यक्त गरिन्। उनले सरकारी सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

माइती नेपालले मानव बेचबिखन तथा अन्य जोखिममा परेका महिला र किशोरीहरूलाई आश्रय प्रदान गर्नुका साथै विभिन्न सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने कार्य गर्दै आएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी बालकल्याण अधिकारी बिना थिङ, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्ध सञ्जालकी संयोजक आरती पाठक, मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, स्तर बेन्जामिन स्मृति संस्थाकी कार्यक्रम अधिकृत सुनिरा लामा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.