हेटौंडा । एकल महिला, द्वन्द्वपीडित तथा सीमान्तकृत महिला र तिनका छोराछोरीबीच संवाद कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह मकवानपुरको आयोजना तथा कुर्वे वोस्ट्रोको सहयोगमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो।
समूहकी अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष जुना दाहाल, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका अधिकृत जयश्वर चापागाईं, समूहकी बागमती प्रदेश अध्यक्ष रुकु अधिकारी, गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटालगायत एकल महिला, द्वन्द्वपीडित तथा सीमान्तकृत महिला र उनीहरूका सन्तानको सहभागिता थियो।
संवाद कार्यक्रममा सहभागीहरूले द्वन्द्वपीडित, एकल महिला तथा सीमान्तकृत समुदायका रूपमा भोग्दै आएका विभिन्न समस्या, पीडा र चुनौतीहरू खुलस्त रूपमा प्रस्तुत गरेका थिए। उनीहरूले द्वन्द्वकालीन घटनासँग सम्बन्धित न्याय अझै प्राप्त हुन नसकेको, एकल महिला भएकै कारण समाज र परिवारबाट विभेद तथा अपमान सहनुपरेको, साथै सीमान्तकृत समुदायका महिलाहरूलाई परिवारको जीविकोपार्जन गर्नसमेत कठिनाइ भइरहेको अनुभव सुनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि ललित घलानले द्वन्द्वपीडित, एकल महिला तथा सीमान्तकृत समुदायका महिलाहरूलाई सीपमूलक कार्यक्रमसँग जोडेर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए। उनले यस्ता समुदायको उत्थानका लागि राज्यका विभिन्न निकायले सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
सहभागीहरूले आफ्ना भोगाइ, समस्या तथा न्याय प्राप्तिका लागि अझै बाँकी रहेका मुद्दाबारे आवाज उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
समूहकी प्रदेश अधिकृत अप्सरा अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी मञ्जिता मैनालीले गरेकी थिइन्।







