मकवानपुर । मनहरी गाउँपालिकाको आयोजना तथा विभिन्न सरोकारवाला निकायको समन्वयमा बालश्रम विरुद्ध चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा मनहरी गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका बालबालिकाले बालश्रम, बालअधिकार, शिक्षा तथा बाल संरक्षणसँग सम्बन्धित विषयमा चित्र प्रस्तुत गरेका थिए। बालबालिकाले श्रममा लगाइएका बालबालिकाको अवस्था, शिक्षाको महत्व तथा बालमैत्री समाज निर्माणको सन्देश आफ्ना चित्रमार्फत व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी बालबालिकाले सिर्जनात्मक माध्यमबाट बालश्रम अन्त्य र बालअधिकार संरक्षणका विषयमा जनचेतना फैलाउने प्रयास गरेका थिए। प्रतियोगिताले बालबालिकामा रचनात्मक क्षमता विकास गर्नुका साथै सामाजिक विषयप्रति सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बाल हेल्पलाइन दिवसको अवसर पारेर बाल संरक्षण तथा बालअधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएको जनाइएको छ। विद्यालय तथा समुदायस्तरमा बाल हेल्पलाइन १०९८ सम्बन्धी जानकारी प्रवाह, प्रचारप्रसार तथा सचेतना अभिवृद्धिका गतिविधि सञ्चालन भइरहेका छन्।








