हेटौंडा । एकल महिला तथा सीमान्तकृत महिलाहरूलाई लक्षित गरी आयोजित तीनदिने एकल महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिर परिसरमा शुक्रबारबाट सुरु भएको कार्यक्रम आइतबार समापन गरिएको हो।
मानव अधिकारका लागि महिला एकल महिला समूहको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो।
समूहकी अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालकी अध्यक्ष आरती पाठक, समूहकी बागमती प्रदेश अध्यक्ष रुकु अधिकारी, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, वडा जनप्रतिनिधिहरू तथा जिल्लाभरका करिब ७० जना एकल महिलाको उपस्थिति थियो।
कार्यक्रमअन्तर्गत महिला माथि हुने हिंसा तथा डिजिटल हिंसा न्यूनीकरण, सहभागिता अभिवृद्धि र सुशासनमा प्रभावकारी जवाफदेहितासम्बन्धी अभिमुखीकरणसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण आशिष दुलालले गरेका थिए।







