हेटौंडा । हेटौंडा –९ स्थित सिआन पुनर्स्थापना केन्द्र लागुऔषध दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूको पुनर्स्थापनामा पुर्याएको योगदानका लागि देशकै उत्कृष्ट संस्थाका रूपमा सम्मानित भएको छ।
अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा केन्द्रलाई कार्यसम्पादन उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो।
समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले सिआन पुनर्स्थापना केन्द्रको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए । साथै संस्थाको सामाजिक योगदानलाई थप प्रोत्साहनस्वरूप गृह मन्त्रालयले १ लाख नगद अनुदान समेत प्रदान गरेको छ।
संस्थाका तर्फबाट विभागीय प्रमुख उत्सव अर्यालले सम्मानपत्र र अनुदान ग्रहण गरेका थिए ।
वर्षौंदेखि लागुऔषध दुर्व्यसनमा परेकाहरूलाई नयाँ जीवन दिन निरन्तर सक्रिय सिआन पुनर्स्थापना केन्द्रले पुनर्स्थापना, परामर्श र सामाजिक पुनःएकीकरणका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।








