हेटौँडा । ज्येष्ठ नागरिक मञ्च हेटौँडा नगर समन्वय समितिको पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ। हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा दुईदिने कार्यक्रम सञ्चालन गरिएको हो।
आयोजकका अनुसार पहिलो दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ भने बिहीबार नगर समन्वय समितिको पुनर्गठन गरिनेछ। ‘ज्येष्ठ नागरिकको सक्रिय सहभागिता, समुन्नत समाजको प्रतिबद्धता’ भन्ने नारासहित हेटौँडा–२ स्थित जलेश्वर महादेव मन्दिर परिसरमा रहेको ज्येष्ठ नागरिक भवनमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जनले राज्यबाट प्रदान गरिएका सुविधा वास्तविक आवश्यकता भएका ज्येष्ठ नागरिकसम्म पुग्नुपर्नेमा जोड दिनुभयो। उहाँले आर्थिक रूपमा सक्षम ज्येष्ठ नागरिकले राज्यका केही सुविधा स्वेच्छाले त्याग्ने संस्कार विकास गर्नुपर्ने बताउँदै विपन्न तथा असहाय ज्येष्ठ नागरिकका लागि सुविधा अझ प्रभावकारी बनाउन राज्यले नीति अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो।
अभिमुखीकरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका भोलानाथ चौलागाईंले ज्येष्ठ उमेरमा देखिन सक्ने स्वास्थ्य समस्या तथा त्यसको व्यवस्थापनबारे सहजीकरण गर्नुभएको थियो। त्यसैगरी अर्पण पराजुलीले बुढ्यौलीमा हुने तनाव व्यवस्थापन र आत्म–हेरचाहका विषयमा प्रशिक्षण दिनुभएको थियो।
ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिका अध्यक्ष रामचन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, ज्येष्ठ नागरिक मञ्च मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देल, समितिका उपाध्यक्ष रामबहादुर नेपाली तथा हेटौँडाका विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिक मञ्चका प्रतिनिधिहरूको सहभागिता थियो।








