हेटौंडा । बागमती प्रदेशभित्र सञ्चालनमा रहेका लागुऔषध पुनर्स्थापना केन्द्रका सञ्चालक तथा व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। रिकभरीङ नेपाल बागमती प्रदेशको आयोजना तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा असार २१ गतेदेखि हेटौंडामा सञ्चालन भएको तालिम सम्पन्न भएको हो।
तालिममा मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका ५५ जना पुनर्स्थापना केन्द्रका सञ्चालक, व्यवस्थापक तथा पेशाकर्मीको सहभागिता थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा १८ वटा प्रशिक्षण सत्र समावेश गरिएको आयोजकले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाही प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईं, मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव विष्णुकुमार भट्टराई, शान्ति सुरक्षा तथा स्थानीय प्रशासन समन्वय शाखाका अधिकृत शिवराम बोहोरा, रिकभरीङ नेपालका केन्द्रीय प्रतिनिधि प्राची सुनुवार, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा तथा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति सञ्जीव बर्तौलालगायतको उपस्थिति थियो।
तालिममा व्यक्तिगत विकास, नेतृत्व तथा वक्तृत्वकला, प्राथमिक उपचार, मानसिक स्वास्थ्य, मेडिकल डिटोक्सिफिकेशन, संस्थागत व्यवस्थापन, अभिलेखीकरण, मनोसामाजिक परामर्श, मानव अधिकारमैत्री पुनर्स्थापना प्रणाली तथा व्यवहार परिवर्तनलगायत विषयमा राष्ट्रिय तथा विषयगत विज्ञहरूले प्रशिक्षण दिएका थिए।
प्रशिक्षकहरूमा रामहरि लम्साल, डा. नरेन्द्र केसी, राजनकुमार केसी, दिपेश शाही ठकुरी, चन्द्रकान्त चापागाईं र डा. नगेन्द्रसिंह थगुन्ना,रुपक कालिराज रहेका थिए।
आयोजकका अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा पुनर्स्थापना सेवाको माग पनि बढिरहेको अवस्थामा पुनर्स्थापना केन्द्रमा कार्यरत जनशक्तिको व्यावसायिक क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको हो।
आयोजकले यस तालिमले बागमती प्रदेशका पुनर्स्थापना केन्द्रहरूबीच समन्वय र सहकार्य सुदृढ बनाउनुका साथै गुणस्तरीय तथा मानव अधिकारमैत्री पुनर्स्थापना प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
रिकभरीङ नेपाल बागमती प्रदेशका प्रादेशिक फोकल पर्सन मनिश मान श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्त्यमा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो।







