फेसबुकमार्फत प्रलोभनमा परेका राक्सिराङका दुई किशोरीको उद्धार

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका एक १४ वर्षीया बालिका र एक २१ वर्षीया युवतीलाई विवाह र रोजगारीको प्रलोभन देखाई बेचबिखनको उद्देश्यले लगिएको अवस्थामा माइती नेपाल कञ्चनपुरले उद्धार गरेको छ।
दुवै पीडित राक्सिराङ गाउँपालिकाको एउटै वडाका फरक–फरक परिवारका हुन्। उनीहरूलाई असार १० गते चितवनको कालिका गाउँपालिका–११ का ३५ वर्षीय एक पुरुष र सोही स्थानका करिब २० वर्षीय अर्का पुरुषले फेसबुकमार्फत चिनजान गरी विवाह गराइदिने र कामसमेत लगाइदिने प्रलोभन देखाएर लगेका थिए।

माइती नेपाल कञ्चनपुरले उद्धारपछि दुवैलाई संरक्षणमा राखी राक्सिराङ गाउँपालिकाको उपाध्यक्ष बनस्तम थिङको जिम्मा लगाएको हो। गाउँपालिका उपाध्यक्ष थिङले उद्धार गरिएको पुष्टि गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क बढाएर उनीहरूलाई प्रलोभनमा पारिएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

उनका अनुसार दुवै पीडितले हालसम्म उजुरी दिन इच्छा नदेखाएका कारण उनीहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेर मनोसामाजिक परामर्श (काउन्सिलिङ) गरिँदै आएको छ। पीडितबाट उजुरी नपरेकाले घटनामा संलग्न भनिएका व्यक्तिहरू हाल नियन्त्रणमा नरहेको बुझिएको छ।
माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया तामाङले अशिक्षा, गरिबी, पारिवारिक समस्या तथा जनचेतनाको अभावका कारण बालबालिका र किशोरीहरू अझै पनि मानव बेचबिखनको जोखिममा पर्ने गरेको बताइन्।
उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत चिनजान गरी विवाह र रोजगारीको प्रलोभन देखाएर बालिका तथा किशोरीलाई बेचबिखनमा लैजाने घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता घटनाबाट जोगिन समुदायस्तरमा व्यापक जनचेतना आवश्यक रहेको बताइन्।

तामाङका अनुसार माइती नेपालको विभिन्न शाखाले देशका विभिन्न स्थानबाट जोखिममा परेका तथा बेचबिखनमा परेका बालिका र किशोरीहरूको नियमित उद्धार तथा पुनस्थापनाको काम गर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.