स्थायी पदपूर्ति रोक्ने निर्णयविरुद्ध लोकसेवा तयारीरत विद्यार्थी विरोध

हेटौँडा । स्थायी पदपूर्ति रोक्ने सचिवस्तरीय बैठकको निर्णय फिर्ता लिन माग गर्दै मकवानपुरका लोकसेवा आयोग तयारीरत विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई बुझाउँदै विद्यार्थीहरूले उक्त निर्णयले हजारौँ तयारीरत युवाको भविष्य अन्योलमा परेको बताएका हुन्।

ज्ञापनपत्रमा विभिन्न सरकारी निकायका रिक्त दरबन्दीमा स्थायी पदपूर्ति रोकिँदा लोकसेवा आयोगको नियमित विज्ञापन, परीक्षा तथा नियुक्ति प्रक्रिया प्रभावित हुने उल्लेख गरिएको छ। यसले लामो समयदेखि लोकसेवाको तयारी गरिरहेका युवामा निराशा बढाएको उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले सचिवस्तरीय निर्णय तत्काल खारेज गरी लोकसेवा आयोगमार्फत नियमित रूपमा विज्ञापन, परीक्षा र स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.