हेटौंडा । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र शैक्षिक सहकार्यका सम्भावनाबारे छलफल गरेका छन्।
शुक्रबार आयोजित विशेष समारोहमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख तथा जनप्रिय क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली र क्याम्पस प्रमुख अतिश पण्डितले राजदूत बासलाई भव्य स्वागत गरेका थिए।
स्वागत कार्यक्रमपछि उपमहानगरपालिका र क्याम्पसका तर्फबाट राजदूत बाससमक्ष हेटौंडा उपमहानगरपालिकाका गतिविधि, जनप्रिय क्याम्पसको शैक्षिक अवस्था तथा भावी योजनाबारे प्रस्तुतिकरण गरिएको थियो।
भ्रमणका क्रममा राजदूत बासले क्याम्पसको भौतिक पूर्वाधार, कृषि संकायअन्तर्गत सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम तथा प्रयोगात्मक अभ्यासको अवलोकन गर्दै क्याम्पसको समग्र सञ्चालन अवस्थाबारे जानकारी लिएका थिए।
कार्यक्रममा नगर प्रमुख लामा, प्रमुख प्रशासकीय अधिकृत वली र क्याम्पस प्रमुख पण्डितले क्याम्पसको शैक्षिक प्रगति, सम्भावना र आगामी योजनाबारे जानकारी गराएका थिए।
छलफलका क्रममा जनप्रिय क्याम्पसमा कृषि शिक्षालाई अझ व्यावहारिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन इजरायलको आधुनिक कृषि प्रविधि, अनुभव तथा शैक्षिक सहकार्यलाई उपयोग गर्न सकिने विषयमा सकारात्मक विचार आदानप्रदान भएको जानकारी दिइएको छ।









