हेटौँडा। स्व. सिआन डि.सी.को १२औँ स्मृति दिवसको अवसरमा एक विशेष दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सिआन पुनर्स्थापना केन्द्रको आयोजनामा आयोजित उक्त कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सिआन पुनर्स्थापना केन्द्रका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशका उपसचिव विष्णु कुमार भट्टराईले लागूऔषध दुर्व्यसनी तथा पुनर्स्थापनाका क्षेत्रमा सिआनले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले प्रदेश सरकार र मन्त्रालयका तर्फबाट यस्ता सामाजिक तथा पुनर्स्थापना सम्बन्धी अभियानहरूमा निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले समाजलाई लागूऔषधमुक्त बनाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दुर्व्यसनीविरुद्धको अभियानमा पुनर्थापना केन्द्रहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा प्रहरी प्रशासन र संस्थाबीच अझ प्रभावकारी समन्वय र सहकार्य रहने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन सिआन पुनर्स्थापना केन्द्रका प्रमुख सञ्चालन अधिकृत मनिष मान श्रेष्ठले गर्नुभएको थियो। सञ्चालनका क्रममा उहाँले संस्थाको मुख्य उद्देश्य, हालसम्मका गतिविधि, प्रगति विवरण तथा पुनर्थापनासम्बन्धी महत्त्वपूर्ण तथ्याङ्कहरू प्रस्तत गर्नुभएको थियो।
उक्त स्मृति कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, सिआन पुनर्स्थापना केन्द्रका सल्लाहकार महेश्वरमान श्रेष्ठ तथा निवर्तमान अध्यक्ष बिजेन्द्र अग्रवाललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय सिआन डि.सी.को योगदानको स्मरण गर्दै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।







