हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार भएको मतदानमा उनले उपस्थित सबै सांसदको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कुल ५७ मत परेको छ। सरकार टिकाउन आवश्यक ५३ मतभन्दा उनले बढी मत प्राप्त गरेका हुन् ।
प्रदेशसभाका कुल ११० सदस्यमध्ये विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल तथा मतदानमा सत्तारुढ दलका सांसदहरू मात्र सहभागी भएका थिए। विपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
सरकारको साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका केही सांसद पनि बैठकमा अनुपस्थित रहे। मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, नेकपाका २६ र नेकपा एमालेका २४ सांसदले मुख्यमन्त्री थापाको पक्षमा मत दिएका हुन्।
विपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा वा तटस्थमा कुनै मत परेको छैन।







