राक्सिराङ र मनहरीका शिक्षकलाई प्रयोगात्मक शिक्षण सिकाइसम्बन्धी चारदिने तालिम

हेटौंडा । मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकाका शिक्षकहरूको शिक्षण सिकाइसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित चारदिने तालिम सम्पन्न भएको छ।
सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तर्गत हिमराइट्स मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनलको सहकार्यमा सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो। तालिममा गणित, विज्ञान, अंग्रेजी तथा मनोपरामर्श विषयलाई प्रयोगात्मक रूपमा सिकाउने विधिमा जोड दिइएको थियो।तालिमको पहिलो दिन विज्ञान विषयमा भरत पोखरेल, दोस्रो दिन गणितमा सविना वाइबा, तेस्रो दिन अंग्रेजीमा सरस्वती अधिकारी र चौथो दिन मनोपरामर्शमा आशिष दुलालले प्रशिक्षण दिएका थिए।

तालिम समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुबिराम अधिकारीले एसईईको नतिजा कमजोर भएका विद्यालयहरू पनि मनहरी र राक्सिराङ क्षेत्रमा रहेकाले शिक्षकको विषयगत तथा शिक्षण क्षमता अभिवृद्धिका लागि तालिम प्रभावकारी हुने बताए। विद्यार्थीको सिकाइको जग बलियो बनाउन तालिमले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले तालिमबाट सिकेका सीपलाई नियमित शिक्षणमा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे।

हिमराइट्स मकवानपुरकी  कार्यक्रम संयोजक  कुमारी वाइबाको अनुसार तालिममा मनहरी र राक्सिराङका पाँच विद्यालयका १५ जना शिक्षक सहभागी थिए। राक्सिराङ–३ स्थित सूर्योदय माध्यमिक विद्यालयका चार, राक्सिराङ–५ स्थित प्रजा जागृति माध्यमिक विद्यालयका चार, मनहरी–६ स्थित सगरमाथा आधारभूत विद्यालयका दुई, राष्ट्रिय रोटरी विद्यालयका एक तथा मनहरी–३ स्थित प्रजा माध्यमिक विद्यालयका चार जना शिक्षक सहभागी थिए।
गणित, अंग्रेजी र विज्ञानका विषयवस्तुलाई कक्षाकोठामा प्रयोगात्मक रूपमा कसरी प्रस्तुत गर्ने भन्नेबारे शिक्षकहरूले अभ्यास गरेका थिए। त्यस्तै विद्यार्थीको मनोभावना बुझ्ने, समस्या पहिचान गर्ने तथा आवश्यक मनोपरामर्श प्रदान गर्ने विषयमा समेत व्यावहारिक अभ्यास गराइएको थियो।
सहभागी शिक्षकहरूले परम्परागत रूपमा सुन्ने र लेख्नेभन्दा आफैंले गरेर सिक्ने विधि प्रभावकारी र व्यवहारिक रहेको बताए। ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीलाई नियमित विद्यालय ल्याउन र कक्षामा सहभागी गराउन चुनौती रहेको भन्दै तालिमले विद्यार्थीको ध्यानाकर्षण गराउने नयाँ विधिबारे थप ज्ञान दिएको उनीहरूको भनाइ थियो।
विद्यालयमा विद्यार्थीलाई सिकाउन केही जटिल भए पनि तालिमबाट सिकेका नयाँ विधि र सीपलाई उत्साहपूर्वक कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता शिक्षकहरूले जनाएका छन्।
हिमराइट्स केन्द्रिय कार्यक्रम संयोजक सुशील श्रेष्ठले तालिममा सिकेका सीपलाई दैनिक शिक्षण सिकाइमा प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे। तालिमबाट सिकेका विषय विद्यालयमा कसरी प्रयोग भइरहेको छ भन्नेबारे आगामी दिनमा स्थलगत अनुगमनसमेत गरिने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.