बस्तिपुर जेसीजको जेसीज सप्ताह शुक्रबारदेखि

हेटौँडा । हेटौँडा–१९ स्थित बस्तिपुर जेसीजले मंसिर ११ गते शुक्रबारदेखि जेसीज सप्ताह–२०२६ सञ्चालन गर्ने भएको छ। मंसिर १३ गते आइतबारसम्म सञ्चालन हुने सप्ताहअन्तर्गत सामाजिक सेवा, शिक्षा, खेलकुद तथा संस्थागत प्रवर्द्धनसँग सम्बन्धित सातवटा कार्यक्रम आयोजना गरिने भएको हो।
बस्तिपुर जेसीजका अध्यक्ष सुरज बर्तौलाका अनुसार सप्ताहको पहिलो दिन शुक्रबार बिहान ८ बजे बस्तिपुर चोकमा रक्तदान कार्यक्रम आयोजना हुनेछ। बिहान ११ बजे मनहरी–३ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता तथा दिउँसो ४ बजे मनहरी–२ स्थित बुद्धचोकमा खेलकुद सामग्री वितरण गरिनेछ।
त्यसैगरी, दोस्रो दिन शनिबार बिहान ८ः३० बजे हेटौँडा–१९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिनेछ। बिहान ११ बजे हेटौँडा–११ स्थित कभर्ड हलमा अन्तर बस्तिपुर जेसीज ब्याडमिन्टन प्रतियोगिता आयोजना हुनेछ।
सप्ताहको अन्तिम दिन आइतबार दिउँसो ३ बजे बस्तिपुर जेसीजको सचिवालयमा संस्थाको वेबसाइट सार्वजनिक तथा प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ। दिउँसो ४ बजे समापन तथा पुरस्कार वितरण समारोहसँगै सप्ताह सम्पन्न हुनेछ।
कार्यक्रमको मूल संयोजक सोवित वाइबा र सहसंयोजक सन्तोष ढकाल रहेका छन्। सप्ताहमार्फत सामाजिक उत्तरदायित्वका गतिविधिलाई प्रवर्द्धन गर्नुका साथै युवाको नेतृत्व, व्यक्तित्व विकास र संस्थागत सक्रियता अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.