हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिकमा खानेपानी उत्पादन, वितरण तथा पूर्वाधार विस्तारमा प्रगति भएको जनाएको छ। बोर्डले हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका ३० हजार १९१ निजी तथा संस्थागत धारामार्फत दैनिक करिब ३ करोड ७० लाख लिटर खानेपानी वितरण गर्दै आएको छ।
शुक्रबार आयोजित पहिलो चौमासिक समीक्षा तथा पत्रकार सम्मेलनमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार वडा नम्बर १२ र १३ बाहेक हेटौंडाका अन्य वडामा खानेपानी सेवा विस्तार गरिएको छ। बोर्डको सेवा क्षेत्रभित्र करिब एक लाख ७० हजार जनसंख्या रहेको छ।
बोर्डका अनुसार हाल एक सतही मुहान, ४० वटा भूमिगत डिप ट्युबवेल र १८ वटा समवेल सञ्चालनमा छन्। त्यस्तै, ५ हजार ५०२ घनमिटर क्षमताका पानी भण्डारण संरचना तथा ८१४ किलोमिटर मुख्य र शाखा पाइपलाइनमार्फत खानेपानी सेवा प्रवाह भइरहेको छ।
पहिलो चौमासिकमा विभिन्न स्थानमा करिब १० किलोमिटर पाइपलाइन सुधार तथा विस्तार गरिएको छ। सडक विस्तारका क्रममा प्रभावित क्षेत्रमा करिब ८ किलोमिटर पाइपलाइन विस्तार गरिएको र सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक स्थलमा करिब ६ किलोमिटर पाइप उपलब्ध गराइएको बोर्डले जनाएको छ। यस अवधिमा पानीको गुणस्तर परीक्षणका लागि ३०० वटा नमुना परीक्षण गरिएको छ।
बोर्डले चालु आर्थिक वर्षका लागि २५ करोड ९५ लाख ८० हजार रुपैयाँको अनुमानित आयव्यय बजेट स्वीकृत गरेको छ। पहिलो चौमासिकसम्म ७ करोड ६ लाख ६ हजार रुपैयाँ आम्दानी भएको छ। यो वार्षिक अनुमानित आम्दानीको २७.२० प्रतिशत हो।
यस अवधिमा आन्तरिक आम्दानीतर्फ ५ करोड २६ लाख ३३ हजार रुपैयाँ संकलन भएको छ भने पानी महसुलबाट मात्रै ४ करोड ७९ लाख ८५ हजार रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै, पहिलो चौमासिकमा ४ करोड ७५ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजित बजेटको १८.३४ प्रतिशत हो। पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै बोर्डले आगामी चौमासिकमा पाइपलाइन विस्तार, पुराना संरचनाको सुधार र वितरण प्रणाली सुदृढीकरणलाई प्राथमिकता दिने जनाएको छ।
बोर्डले सडक विस्तार, कालोपत्रे, ढल तथा नाला निर्माणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति पुग्ने समस्यालाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। विभिन्न सरकारी निकाय तथा विकास आयोजनाबीच पर्याप्त समन्वय नहुँदा एउटै सडक पटकपटक खन्नुपर्ने, पुराना पाइपलाइनमा क्षति पुग्ने र मर्मतसम्भारमा थप आर्थिक भार पर्ने समस्या रहेको जनाएको छ।
त्यसैगरी, खानेपानीका स्रोत संरक्षण, वैकल्पिक स्रोत व्यवस्थापन, विद्युत् तथा सञ्चालन खर्च वृद्धि र क्षतिग्रस्त संरचनाको मर्मत खर्च कसले व्यहोर्ने भन्ने विषय पनि चुनौतीका रूपमा रहेको बोर्डको भनाइ छ।
यी समस्या समाधानका लागि सडक निर्माणअघि खानेपानी पूर्वाधारको प्राविधिक मूल्यांकन गर्ने, क्षति भए सम्बन्धित निर्माण पक्षबाटै मर्मत खर्च व्यहोर्ने व्यवस्था गर्ने तथा दीर्घकालीन खानेपानी गुरुयोजना कार्यान्वयन गर्ने लक्ष्य बोर्डले अघि सारेको छ।
हेटौंडाको खानेपानी सेवा विस्तार तथा दिगो व्यवस्थापनका लागि संघीय सरकार र बोर्डको सहलगानीमा विभिन्न आयोजना सञ्चालन भइरहेका छन्। सिमलटार, हटिया र रातोमाटे खानेपानी तथा सरसफाइ आयोजनाको पहिलो चरणअन्तर्गत करिब २० करोड रुपैयाँ लागतको निर्माण कार्यमा ८० प्रतिशत भौतिक प्रगति भएको बोर्डले जनाएको छ।
त्यस्तै, दोस्रो चरणअन्तर्गत ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ लागतको आयोजना अघि बढाइएको छ। उक्त आयोजनामार्फत विभिन्न स्थानमा समवेल, डिप ट्युबवेल, पानी भण्डारण ट्यांकी, प्रशोधन केन्द्र, पाइपलाइन विस्तार तथा कार्यालय भवन निर्माण गरिनेछ।
बोर्डका अध्यक्ष प्रताप विष्टले दिगो खानेपानी व्यवस्थापनका लागि स्रोत संरक्षण, सुरक्षित पूर्वाधार निर्माण, आर्थिक आत्मनिर्भरता र संस्थागत सुशासनलाई प्राथमिकतामा राखिएको बताए। बढ्दो सहरीकरणसँगै खानेपानीको मागसमेत बढ्दै गएकाले उत्पादन क्षमता र वितरण प्रणाली विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि तथा उपप्रमुख राजेश बानियाँ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ तथा सञ्चारकर्मीको सहभागिता थियो।
बोर्डले आगामी दिनमा खानेपानीका नयाँ स्रोत पहिचान तथा संरक्षण, पुराना पाइपलाइन प्रतिस्थापन, चुहावट नियन्त्रण, पानीको गुणस्तर परीक्षण, सेवा क्षेत्र विस्तार र उपभोक्तामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।








