नेपाली समाजमा विशेष अर्थ बोकेको साउन १ गते साँझको ‘लुतो फाल्ने’ परम्परा अहिले पनि कतिपय घरमा निरन्तरता पाइरहे पनि नयाँ पुस्तामा यसको महत्व र सामग्री सम्बन्धी जानकारी विस्तारै हराउँदै गएको छ।
काठमाडौं — नेपाली समाजमा विशेष अर्थ बोकेको साउन १ गते साँझको ‘लुतो फाल्ने’ परम्परा अहिले पनि कतिपय घरमा निरन्तरता पाइरहे पनि नयाँ पुस्तामा यसको महत्व र सामग्री सम्बन्धी जानकारी विस्तारै हराउँदै गएको छ।नेपाली परम्पराअनुसार साउन १ गते साँझ घर वरपर लाग्न सक्ने रोग, अशुभ शक्ति र विकार हटाउनका लागि लुतो फाल्ने गरिन्छ। त्यस क्रममा विशेष औषधीय वनस्पति जस्तै कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते लगायतका बिरुवा र कागती, निबुवा, अम्बा, अनार, नासपातीजस्ता फलहरू प्रयोग हुने चलन छ। साथै, कण्डारक नामक राक्षसलाई तुष्ट पार्ने धार्मिक विधि पनि गरिन्छ।
तर पछिल्ला वर्षहरूमा यी वनस्पति र फलफूलहरू चिन्ने र प्रयोग गर्ने परम्परा विस्तारै हराउँदै गएको पाइन्छ। धेरै स्थानमा त यी सामग्री नै लोप भएका छन् भने कतिपय ठाउँमा नयाँ पुस्ताले तिनको नामसमेत थाहा नपाउने अवस्था छ।
लुतो फाल्ने बेला नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको मूल ढोका बन्द राख्ने परम्परा छ। यसरी गरिँदा घरमा प्रवेश गरेका अशुभ शक्ति र रोगहरू बाहिर जाने विश्वास गरिन्छ।
यद्यपि, सहर बजार र आधुनिक जीवनशैलीका कारण कतिपय ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ। तर कास्की जिल्लाको भरतपोखरीस्थित कोटभैरव मन्दिर जस्ता स्थानहरूमा भने अझै पनि सामूहिक रूपमा यो परम्परा मनाइन्छ। कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलका अनुसार प्रत्येक वर्ष साउने सङ्क्रान्तिमा यहाँ विशेष कार्यक्रम गरी लुतो फाल्ने गरिन्छ। ज्योतिषशास्त्र अनुसार, सौर्यमान प्रणालीमा सूर्य दक्षिणायनतर्फ प्रवेश गरी कर्कट रेखामा पुगेपछि साउने सङ्क्रान्ति मनाइने गरिएको हो। त्यसैले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ।
नेपालजस्तो कृषिप्रधान देशमा असार महिनाभर गरिने रोपाइँ र खेतीपातीपछि थाकेका किसानहरू साउन १ गतेलाई विश्रामको दिन मानेर रमाइलो गर्ने परम्परा पनि रहिआएको छ। ‘मानो खाई मुरी उब्जाउने’ भन्ने पुरानो भनाइ यही सन्दर्भसँग जोडिएको पाइन्छ।खेतमा हिलो खेलेर हुने छाला रोग, लुतो, दाद जस्ता समस्याबाट छुटकारा पाउन पनि यो दिन लुतो फाल्ने चलन विकास भएको जनविश्वास छ। साउने सङ्क्रान्तिबाट सुरु हुने अर्को विशेषता भनेको महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने चलन हो। हरियो चुरा सौभाग्यको प्रतीक मानिन्छ। साथै, साउन महिनाभर विशेषगरी सोमबार शिवपूजा गरी व्रत बस्ने परम्परालाई देवी पार्वतीसँग जोडिएको मान्यता छ।
भक्तजनहरू साउन महिनाभर शिवालयमा भीड लाग्ने गर्छन्। भगवान् शिवलाई प्रिय महिना भएकाले पनि साउनमा भक्तिभाव अझ बढी देखिन्छ।










