लामो खडेरीले आहत भएका मधेस प्रदेशका किसानमा पछिल्ला दिनको वर्षापछि राहतको सास फेर्न थालेका छन् । सोमबारदेखि बिहीबारसम्म परेका लगातार झरीले बारा, पर्सा, रौतहट र महोत्तरी जिल्लाका किसानमा रोपो बाँच्ने र खेत फर्किने आशा पलाएको छ ।
वर्षा नहुँदा धान रोप्ने समयमा खेत सुक्खा भएपछि इनार, बोरिङ र स्यालोट्युवेलको सहारामा जसोतसो रोपाइँ गरिए पनि रोपो मर्न थालेको थियो । तर पछिल्ला तीन दिनमा पर्याप्त चिस्यान हुनेगरी परेको पानीले खेतका चिरा पुरिँदै धान बोट फर्कन थालेका छन् ।
“अबचाहिँ रोपो मर्दैन, खेतका चिरा पनि पुरिए, बोट फेरिएको छ,” भङ्गाहा–३, महोत्तरीका किसान विजय यादव भन्छन्, “तीन दिनको झरीले आशा पलायो ।”
रौतहट र सर्लाहीका किसानहरूले पनि वर्षाका कारण पहेँलिँदै गएको रोपो हरियाली फर्किन थालेको जनाएका छन् ।
“कसरी बाँच्छ भनेर चिन्तामा परेको रोपो फेरिएको छ,” बर्दिबास–७, प्रेमनगरका किसान रामउद्गार महतो भन्छन्, “अझ दुई दिन पानी पर्यो भने राहत मिल्नेछ ।”
बारा र पर्साका केही किसानले अझै पनि खेतमा रोपाइँ सुरु गर्न सकेका छैनन् । तर पहिले रोपिएको धान बाँच्ने सम्भावना बढेकाले बाँकी खेतमा पनि काम सुरु हुने विश्वास उनीहरूको छ ।
कृषि ज्ञान केन्द्रहरूका अनुसार, पछिल्लो पानीले खेत सिँचाइको वैकल्पिक उपाय नपुगेका किसानलाई केही राहत दिएको छ । मधेसका चारवटै जिल्लामा अझ केही दिन झरी जारी रहे राम्रो उत्पादन हुने आशा गरिएको छ ।








