हेटौंडा।‘मेरो पेसाले मलाई नाम, काम र दाम तीनै कुरा दिएको छ,’ हेटौंडाकी करिब ४३ वर्षीया सीता थापामगर भन्छिन् । जो विगत दुई दशकदेखि ढाका बुनेर न केवल आफ्नो जीविका चलाइरहेकी छन् । बरु, सयौंं महिलालाई आत्मनिर्भर बनाउँदै आएकी छन् ।
सीता, हेटौंडा उपमहानगरपालिकाकी एक कुशल ढाका बुन्ने महिला । हाल ढाका प्रशिक्षकका परिचित छन् । उनले पढाइ छाडेर अङ्गालेको सिप हाल केवल आफ्ना लागिमात्र नभइ अन्य महिलाको जीवन परिवर्तन गर्ने स्रोत बनेको छ ।
२०३९ सालमा नुवाकोटमा मध्यम आर्थिक स्थितिको परिवारमा जन्मिएकी सीताले कक्षा–६ सम्ममात्र औपचारिक शिक्षा पाइन् । बाल्यकालदेखि विभिन्न सिपमा रुचि राख्ने उनी चकटी, गुन्द्री, प्लास्टिकको डोरीबाट झोला जस्ता सामग्री बनाउने काममा अभ्यस्त थिइन् । २०५५ सालमा उनी काठमाडौं गइन् र कपन क्षेत्रमा ढाका बुन्ने सिप सिकिन् । त्यहींबाट शुरु भयो उनको ‘सिपयात्रा’ ।
संघर्ष र सफलता
सिप सिकेर सुरुमा अन्यकोमा काम गरेकी सीताले आफ्नै लगानीमा ढाका बुन्ने तान किनिन् र आफ्नै काम सुरु गरिन् । उनको सिप, मेहनत र इमान्दारिता देखेर धेरैले उनलाई साथ दिए । पहिला कमाएको पैसाले आमालाई सुनको मुन्द्रा किनिदिएको सम्झिँदा उनी भावुक हुन्छिन् । हेटौंडा फर्केपछि उनले चटपटे बेच्नेदेखि लिएर होटल सञ्चालन गर्ने प्रयास गरिन् । यद्यपि, ती व्यवसाय टिकेनन् । पछि बाख्रापालन, तरकारी खेती र फूलखेतीमा समेत हात हालेकी सीता ढाकामै फर्किइन् ।
पुनरागमन र प्रशिक्षकको यात्रा
२०७४ सालतिर हेटौंडामा ढाका तालिम सुरु हुने खबर पाएपछि उनले सहभागी हुन अनेक संघर्ष गरिन् । थुप्रै तालिममा भाग लिइन् र आफ्नै दक्षता देखाएर प्रशिक्षक बन्न सफल भइन् । उनले हालसम्म हेटौंडा उपमहानगरका धेरै महिलालाई ढाका बुन्ने तालिम दिएकी छन् । हाल उनीहरुको पनि आफ्नै व्यवसाय सञ्चालनमा छ ।
सामग्री अभाव
हेटौंडामा ढाका बुन्ने सामग्री सहजरुपमा उपलब्ध छैन । अधिकांश सामग्री काठमाडौं पुगेर ल्याउनुपर्छ । त्यसैले पनि ढाका व्यवसायको विकासमा अझ धेरै संरचनागत् सहजीकरण आवश्यक रहेको सीता बताउँछिन् । सीता हाल जाल्पादेवी महिला उद्यमी तथा कोसेलीघरमा आबद्ध छिन् । उपमहानगर मेयर मीनाकुमारी लामा र अन्य संघसंस्थाको सहयोगमा उनी अझ धेरै महिलालाई सशक्त बनाउन चाहन्छिन् ।
आदर्शपात्र
हेटौंडामा ढाका तालिम दिने पहिलो महिला प्रशिक्षक बन्न सफल सीता उद्यमशीलताकी प्रेरणादायी पात्र हुन् । उनको मेहनत, लगन र आत्मनिर्भरता चाहने दृढ इच्छाशक्ति हाल धेरै महिलाका लागि उदाहरण बनेको छ । उनको कथाले देखाउँछ—सिप छ भने अवसर आफंै सिर्जना हुन्छ । विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।










