संविधान दिवस २०८२ मा बागमतीका नेताहरूको प्रतिबद्धता – सुशासन र कार्यान्वयनमा जोड

हेटौंडा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा बागमती प्रदेशमा आयोजित औपचारिक समारोहमा सहभागी प्रमुख राजनीतिक नेतृत्वहरूले संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो मुख्य कार्यभार हुने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानलाई दोष दिनुभन्दा कार्यान्वयन प्रक्रियामा भएका त्रुटिहरूलाई स्वीकार गर्दै सुधारतर्फ लाग्न राजनीतिक दलहरू तयार हुनुपर्ने बताए। उनले भने, “ऐना पुछेर अनुहारको धुलो पुछिँदैन, संविधानलाई दोष दिने होइन, गल्ती आत्मसात् गर्दै सुधार गर्नुपर्छ।” साथै, संविधान जनताको बलिदानबाट प्राप्त उपलब्धि भएकोले यसलाई “कानुनी दस्तावेज मात्र नभई जीवित प्राणीसरह” सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पछिल्लो जेन-जेड आन्दोलनपछिको अस्थिरतालाई निर्वाचनमार्फत समाधान गर्नुपर्ने उल्लेख गरे। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न दल, प्रशासन र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताए। सुशासनका लागि फजुल खर्च कटौती र डिजिटल प्रविधिमार्फत सेवा छिटो र पारदर्शी बनाउनेमा प्रदेश सरकार क्रियाशील रहेको उनले जानकारी दिए।

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले युवाहरूको आन्दोलनलाई नकारात्मक रूपमा व्याख्या गर्नु उचित नभएको बताए। “युवाको प्रहार ममाथि पनि हो भन्ने सबैले बुझ्नुपर्छ,” उनले भन्दै, दलहरूले आत्मसमीक्षा गरेर रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले संविधानले संघीयता, लोकतन्त्र र समावेशिता संस्थागत गरे पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न संविधान संशोधनको आवश्यकता औँल्याए।

नेताहरूले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरू सच्याउँदै, सुशासन, पारदर्शिता र जवाफदेहिताको मजबूती आजको आवश्यकता भएकोमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.