हेटौंडा।‘पहिला हेटौंडा जान दुई दिन लाग्थ्यो । अब तीन घण्टामात्र हिँड्नुपर्छ,’ भन्छिन् सुकुमाया प्रजा । २३ वर्षीया युवती जो हाल आफ्नै गाउँमा सिलाइ व्यवसाय गरेर आत्मनिर्भर जीवनको सपना बुन्दैछिन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङकी सुकुमायाले औपचारिक शिक्षा प्राप्त गर्न सकिनन्, तर जीवनका कठिनाइलाई जित्दै माइती नेपालको सहयोगमा चार महिनाको सिलाइ तालिम पूरा गरिन् । तालिमको सुरुवात भने सजिलो थिएन । ‘साथीहरु सबै पढेलेखेका, म चाहिं पढ्नलेख्न जान्दिनँ, केही बुझ्दिनँ भन्ने लागेर धेरै रात रोएँ,’ उनी सम्झिन्छिन् । तर मिसहरुको सल्लाह, साथीहरुको साथ र आफ्नै दृढ इच्छाशक्तिले सुकुमायालाई अघि बढायो । उनलाई सिलाइ सिक्ने हुटहुटी थियो । आफ्नै खर्चमा कपडा किनेर अभ्यास गर्न थालिन् । ‘फुर्सदमा अरु टिभी हेर्थे, गफ गर्थे, म चाहिं पढ्थें र सिलाई गर्थें,’ उनले भनिन् ।
तालिमपछि घर फर्किएपछि सबभन्दा ठूलो चुनौती थियो—सिलाइ मेसिन अभाव । आर्थिक अवस्था कमजोर भएकाले मेसिन किन्न सकिनन् । तर, आमाको सहायताले ऋण लिएर सिलाइ मेसिन किनिन् । ‘मेसिन ३ घण्टा बोकेर घर ल्याएँ। पाएको दिन त स्वर्ग जितेजस्तो लाग्यो,’ उनले हाँस्दै भनिन् । त्यसपछि सुरु भयो गाउँमै सिलाइ सेवा । पहिले आफ्ना फाटेका कपडा, पछि गाउँलेका नयाँ कपडा । उनी हाल कुर्था सिलाएको प्रतिजोर २ सय ५० लिन्छिन् । उनले गएको क्रिसमसको समयमा ३ हजार कमाउन सफल भएकी छन् र ऋणको आधा तिरिसकेकी छन् ।
‘साधारण डिजाइनमात्र आउँछ । तर, ग्राहकले आधुनिक प्रकारको कुर्था माग गर्छन्,’ उनी भन्छिन्–म अझ सिक्न चाहन्छु । माइती नेपालबाट एडभान्स तालिम पाए भने अझ राम्रो गर्न सक्छु । सुकुमायाको यात्रा अन्धकारबाट उज्यालोतर्फको कथा हो । जहाँ शिक्षा नहुँदा पनि सिप सिकेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश छ । उनी भन्छिन्–माइती नेपाललाई मुटुदेखि धन्यवाद दिन चाहन्छु, जसले मलाई उज्यालो बाटो देखायो ।











