हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ मैनटारमा सञ्चालित खानेपानी योजना आइतबार एक औपचारिक कार्यक्रमका बीच हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडा मकवानपुरमा हस्तान्तरण गरिएको छ। यससँगै बोर्डमा हस्तान्तरण हुने यो सत्रौँ उपभोक्ता समिति बनेको छ।
मैनटार खानेपानी उपभोक्ता समितिबाट सञ्चालित योजनाको हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्र प्रसाद नेपाल, वडा सदस्य रामकृष्ण अधिकारी, बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा तथा इन्जिनियर विपिन राज वाग्ले अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर सुनारले गरेका थिए।
प्रदेश सरकारअन्तर्गत खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको खानेपानी तथा सरसफाइ डिभिजन नं. १, हेटौंडाबाट करिब १ करोड १० लाख रुपैयाँ लगानी र उपभोक्ताको लागत सहभागितासहित १ करोड ४० लाख रुपैयाँ लागतमा यो आयोजना निर्माण गरिएको हो। उक्त आयोजनाअन्तर्गत १ लाख लिटर क्षमताको पानी ट्यांकी, सम्वेल, करिब ५ किलोमिटर पाइप लाइन र हाल सञ्चालनमा रहेका ६९ वटा धारा सहितका पूर्वाधारहरू निर्माण भएका छन्।
कार्यक्रममा उपभोक्ता समितिका सचिव बैकुण्ठ पराजुलीले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गरेका थिए भने वडा सदस्य रामकृष्ण अधिकारीले आयोजना सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
स्थानीय उपभोक्ताहरूबाट उठाइएका जिज्ञासाको सहजीकरण हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले गरेका थिए। त्यस अवसरमा वडा अध्यक्ष सविन न्यौपाने र प्रमुख अतिथि नगर उप–प्रमुख राजेश बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्दै योजना हस्तान्तरणपछि स्थानीयले अझ सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे।










