मेयरलाई धम्काउनेलाई तत्काल कारबाही हाेस् ; वडा अध्यक्ष सिग्देल 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामामाथि सामाजिक सञ्जालमार्फत दिइएका धम्की र आपत्तिजनक टिप्पणीप्रति वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले तीव्र प्रतिक्रिया जनाएका छन्। उनले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।

मंगलबार मेयर लामाले आफ्नै फेसबुक वालमार्फत आफूलाई धम्की दिइएको र चरित्रमाथि आक्रमण गर्ने आपत्तिजनक शब्दहरू प्रयोग भएको भन्दै सार्वजनिक गरेकी थिइन्।

वडा अध्यक्ष सिग्देलले फेसबुकमार्फतै प्रतिक्रिया जनाउँदै भनेका छन्, “उहाँ केवल मीनाकुमारी लामा मात्र होइन, स्थानीय सरकार प्रमुख हुनुहुन्छ। उहाँमाथि भएका हर्कतहरूले हामीलाई अचम्मित, दुःखित र आक्रोशित बनाएको छ।”

उनका अनुसार जनप्रतिनिधिहरूले सिमित स्रोत र साधनका बीच पनि जनसेवामा निरन्तर खटिरहेका छन्। उनले थपे, “हामीले कुनै अपराध गरेका छैनौँ, तर जनप्रतिनिधि असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको छ। मेयरमाथि भएका अनैतिक धम्की र अपराधिक मनसायका कुकर्महरूको घोर निन्दा गर्दछु।”

सिग्देलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई तत्काल अनुसन्धान गरी पीडकलाई हदैसम्मको कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.