दुधे शिशुसँगै अञ्जली लोको १२ वर्षको शिक्षकीय यात्रा : कक्षा, घर–व्यवहार र संघर्ष

हेटौंडा । मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका–८ दुब्लुङस्थित धुवाङ्ग आधारभूत विद्यालयमा १२ वर्षदेखि पढाउँदै आएकी शिक्षिका अञ्जली लो अहिले पनि दैनिक जीवनको सबैभन्दा ठूलो जिम्मेवारी– शिक्षक र आमा दुबै भूमिकालाई बराबरी निभाउने संघर्ष गर्दै छिन्।

सिमरा, जितपुर–सिमरा उपमहानगरपालिका–२ घर भएकी ३२ वर्षीया लो हाल विद्यालय नजिकै भाडाको सानो कोठामा बस्छिन्। उनका श्रीमान तीन वर्षदेखि साउदीमा वैदेशिक रोजगारीमा छन्। यही बीच उनले पहिलो सन्तान जस्तै ५ महिनाकी कान्छी छोरीलाई पनि काखैमा बोकेर कक्षा कोठासम्म लैजाने, पढाउने र फेरि स्तनपान गराउने दैनिकी दोहो¥याइरहेकी छन्।

अञ्जलीले विद्यालयमा कक्षा ४ सम्म पढाउने मात्र होइन, विद्यालयको लेखा शाखा सम्हाल्ने जिम्मेवारी पनि बोकेकी छन्।
“नानीको निद्रा लागेको बेला पढाउँछु, बिउँझिँदा काखी च्यापेरै पढाउनुपर्छ,” उनी भन्छिन्,“कतिबेला छोडिदिउँ जस्तो लाग्छ, तर फेरि विद्यार्थीको माया र जिम्मेवारीले रोकिन्छु।”

विद्यालयमा पर्याप्त कक्षा कोठा नभएकाले स्तनपान कक्षको व्यवस्था हुनु त परैको कुरा भयो।“नानीलाई स्तनपान गराउन पनि छुट्टै स्थान नहुँदा धेरै असहज हुन्छ,” अञ्जलीको पीडा झल्किन्छ।

केही समयअघि श्रीमान बिदामा नेपाल आएका बेला अञ्जली घर गएकी थिइन्। तर सुत्केरी भएकै ३ महिना ८ दिनमै उनी फेरि विद्यालय फर्किन बाध्य भइन्।“कामको मायाले पनि तुरुन्तै छोड्न मन लागेन। विकल्प पनि थिएन,” उनी भन्छिन्।

पहिलो सन्तान सात वर्षीया जेठी छोरीलाई भने उनले चितवनस्थित मामाघरमै पढ्न छोडेकी छन्।
“दुबै छोरीलाई काखैमा राखेर पढाउने बेला श्रीमान साथ हुँदा सजिलो थियो, अहिले कठिन छ,” अञ्जली सुनाउँछिन्।

१२ वर्षदेखि करारमा पढाउँदै आएकी अञ्जली नियमित दरबन्दीको आशामा दिन बिताइरहेकी छन्। महिनाको २० हजार तलबमै उनी कोठा भाडा, नानीको खर्च र आफ्नै जिन्दगी धान्न संघर्षरत छिन्।
घर जाने फुर्सद समेत लामो बिदामा मात्र मिल्छ।

“८ वर्षअघि बिहे हुँदा श्रीमानले ‘काम छोड’ भनेका थिए। तर आर्थिक अवस्था यस्तो कि अर्को विकल्प थिएन, यही पेशामा टाँसिएँ,” उनी सम्झन्छिन्।

धुवाङ्ग विद्यालयमा कक्षा कोठाको अभाव, स्तनपान कक्ष नहुनु, एक्लै सन्तान हुर्काउँदै पढाउनुपर्ने बाध्यता—यी सबै चुनौतीबीच अञ्जली लो अझै पनि आफ्नो पेशामा समर्पित छिन्।दुर्गम मकवानपुरको वातावरण, कमजोर सुविधा र घरपरिवारको दूरीबीच पनि उनी शिक्षकत्व, मातृत्व र जिम्मेवारी तीनैलाई एकैसाथ सन्तुलनमा राखेर अघि बढिरहेकी छिन्।

उनको कथा ग्रामीण भेगका सयौं आमाहरूको जीवन–सङ्घर्षकै प्रतिनिधि आवाजझैं सुनिन्छ— “छोडौँ जस्तो लाग्छ, तर विद्यार्थी र विद्यालयको मायाले अडिग बनाइदिन्छ।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.