मकवानपुर । मकवानपुर जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार दाबी–विरोध तथा मृतकको विवरण वडाबाट मंसिर २६ गते आएपछि अन्तिम नामावली सार्वजनिक गरिने छ।
कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाता ३ लाख २ हजार २४३ थिए भने थप १४ हजार १ सय २१ जना बढेर कुल मतदाता संख्या ३ लाख १६ हजार ३६४ पुगेको छ। मतदान स्थल १ नम्बर क्षेत्रका ६२ र २ नम्बर क्षेत्रका १०५ गरी कुल १६७ रहेको छ। मतबुथको व्यवस्थापन मतदाताको अवस्थाअनुसार गरिने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
अघिल्लो निर्वाचनमा १ नम्बर क्षेत्रमा १ लाख ५० हजार १५५ र २ नम्बर क्षेत्रमा १ लाख ५० हजार ५७८ गरी ३ लाख ७३३ ले मतदान गरेका थिए। तथ्यांक हेर्दा यसपटक मतदाता संख्यामा उल्लेख्य वृद्धि नभएको अधिकारी ढकालले बताए।
निर्वाचन सहज बनाउन राजनीतिक सहमति तथा दलहरूबीचको समन्वय महत्वपूर्ण हुने बताउँदै उनले यो निर्वाचन न त अत्यन्त अप्ठ्यारो न त सहज रहेको टिप्पणी गरे । निर्वाचन कार्यालय तयारी, सम्पर्क र समन्वयमा निरन्तर सक्रिय रहेको र आवश्यक जनशक्ति व्यवस्थापनदेखि व्यवस्थापकीय कामको थालनीसमेत भइरहेको उनले जानकारी दिए ।
स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न राजनीतिक दलहरूसँग निरन्तर संवाद भइरहेको र केही मतदान स्थल टुंगिन बाँकी रहेको ढकालले बताए ।










