हेटौंडा सडक विस्तार: बिना सुरक्षा काम गर्दा ५ मजदुर घाइते, उपचार खर्चमा अलपत्र परिवार

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा सडक विस्तारको क्रममा मंसिर २० गते सडक डिभिजनले डोजर प्रयोग गरी अधुरो भत्काएर छोडिएका घरहरू अहिले मजदुर लगाएर भत्काउने काम भइरहेका छन्। तर, कुनै पनि प्रकारको सुरक्षा व्यवस्था नगरी काम लगाइँदा हालसम्म कम्तीमा पाँच जना मजदुर गम्भीर घाइते भएका छन्।

बाहिरी जिल्लाबाट हेटौंडामा मजदुरी गर्दै आएका ३६ वर्षीय लोरिक यादव शुक्रबार तीन तला माथिबाट सिमेन्टको ठूलो भारसहित खस्दा गम्भीर घाइते भए। आठ वर्षदेखि निर्माण मजदुरी गर्दै आएका यादवको ढाडको मेरुदण्डमा गम्भीर चोट लागेपछि हेटौंडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। काठमाडौंबाट चिकित्सक बोलाएर हार्डजोर्नीको अपरेसन गरिएको छ।

यादवकी श्रीमती बबिता देवी यादव भन्छिन्,“काम नगरे बिहान–बेलुका हातमुख जोड्न सकिँदैन। काम गर्दा ज्यानको सुरक्षा छैन। उपचारका लागि पैसा छैन।”

छ वर्षको छोरा सहितको परिवार लोरिक यादवकै मजदुरीमा निर्भर थियो। हालसम्म उपचार खर्च झण्डै चार लाख रुपैयाँ नाघिसकेको छ तर काम लगाउने ठेकदारले कुनै रकम नदिएको परिवारको गुनासो छ। घरधनी तथा ठेकदार दुवैसँग सम्पर्क हुन नसकेको उनी बताउँछिन्।

सन्चो अस्पतालका म्यानेजर तिर्थ श्रेष्ठका अनुसार,“अहिलेसम्म करिब चार लाख रुपैयाँ बराबरको उपचार अस्पतालले उधारोमै गरिरहेको छ। खर्च व्यहोर्नुपर्ने अवस्था अस्पतालमै आइपरेको छ।”

यस्तै, बुद्ध चोकमा काम गर्दै आएका रौतहट नगरपालिका–७ का २० वर्षीय जितेन्द्र माझी दुई तला माथिबाट खसेर गम्भीर घाइते भएका छन्। उनको टाउकोमा अपरेसन गरिएको छ, हातमा स्टिल राखिएको छ भने ढाडमा समेत समस्या देखिएको छ। उपचारमा उनकी भाउजू बबिता देवी माझी संलग्न छिन्। कति दिन अस्पतालमा राख्नुपर्ने भन्ने अझै निश्चित नभएको उनी बताउँछिन्।

यसैबीच आइतबार दिउँसो ३ः५० बजे हेटौंडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको बिकी जैसवालको घर आफैं भत्काउने क्रममा थप तीन जना मजदुर घाइते भएका छन्।
घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–१ रानिसेरा निवासी २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ का ३० वर्षीय अरुण चौधरी रहेका छन्। उनीहरू स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी अस्पताल पठाएको हो। सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख मोहनराज जोशीले सडक विस्तार र संरचना हटाउने क्रममा दुर्घटना नहोस् भनेर सरोकारवाला निकायसँग मौखिक तथा लिखित रूपमा सम्झौता भइरहेको बताएका छन्  ।
“सुरक्षाको प्रत्याभूतिका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ, प्रहरीमार्फत सुरक्षा कडाइ गरिएको छ,” उनले भने । हालसम्म मृत्यु नभएको र मृत्यु भएको भन्ने हल्ला मात्र फैलिएको पनि उनले स्पष्ट पारे ।

मजदुरहरुको अनुसार ठेकदारले काम लगाएको अवस्थामा उपचार खर्च आधा–आधा व्यहोर्नुपर्ने प्रावधान भए पनि व्यवहारमा भने ठेकदारहरू पन्छिँदै आएको पीडित परिवारको आरोप छ।

सडक विस्तारका नाममा अधुरो संरचना भत्काएर छोड्दा त्यसको जोखिम मजदुरले बोक्नुपरेको छ। कुनै हेल्मेट, सेफ्टी बेल्ट, जाली वा अन्य सुरक्षात्मक उपकरणबिनै काम गर्न बाध्य मजदुरहरू अझै पनि सयौँको संख्यामा जोखिमबीच काम गरिरहेका छन्।

हेटौंडा सडक विस्तार अब विकासभन्दा पनि मजदुरको ज्यानमाथि खेलवाड बन्दै गएको छ। राज्य, ठेकदार र घरधनीको लापरबाहीको मूल्य मजदुर र उनका परिवारले आँसु र ऋणका रूपमा चुकाइरहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.