हेटौंडा । ७२ वर्षको उमेरमा निधन भएकी स्वर्गीय पुनमाया श्रेष्ठको किरिया उनका छोरीहरूले गरेर नेपाली समाजमा गहिरो रूपमा जरा गाडेको ‘किरिया गर्न छोरा नै चाहिन्छ’ भन्ने मान्यतालाई गलत सावित गरेका छन्।
हेटौंडा–१० स्थित आमाको आफ्नै घरमा किरिया बसेका उनका छोरीहरूले धार्मिक र सामाजिक परम्परालाई चुनौती दिंदै छोरी पनि छोरा सरह कर्तव्य निर्वाह गर्न सक्षम हुन्छन् भन्ने उदाहरण प्रस्तुत गरेका हुन्।
स्वर्गीय पुनमाया श्रेष्ठको मंसिर २४ गते निधन भएपछि जेठी छोरी शर्मिला श्रेष्ठले नै दाहसंस्कार गरेकी थिइन्। नेवारी रीतिअनुसार उनले नै जेठी छोरीको हैसियतमा दागबत्ती दिएकी थिइन्। नेवारी संस्कारअनुसार १०औं दिन नुहाएर कपडा फेर्ने र १२औं दिन किरिया सम्पन्न गर्ने चलन रहेको छ।
पाँच सन्तानमध्ये हाल जेठी छोरी शर्मिला श्रेष्ठ र रेशा श्रेष्ठ आमाको किरियामा बसेका छन्। शर्मिला श्रेष्ठ मानव अधिकारकर्मी तथा मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष हुन् भने नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्यसमेत हुन्। उनी विभिन्न संघ–संस्थामा समेत सक्रिय रूपमा आबद्ध रहँदै आएकी छन्।
छोरा नहुँदा स्वर्गीय पुनमाया श्रेष्ठले जीवनभर सामाजिक, शारीरिक तथा मानसिक पीडा सहनुपरेको उनका छोरीहरू बताउँछन्। “छोरा नजन्माएको कारण आमाले भोग्नुपरेका यातना र विभेद आज पनि सम्झँदा आँखामा आँसु आउँछ,” शर्मिला श्रेष्ठ भन्छिन्। आमाले भोगेको पीडाले नै आफू मानव अधिकारको क्षेत्रमा लाग्न प्रेरित भएको उनको भनाइ छ।
उनका अनुसार, बुवाको मृत्यु संस्कारसमेत आमाले नै गरेकी थिइन्। पुरुषप्रधान समाजमा छोरीलाई कमजोर ठान्ने सोचविरुद्ध यो घटना एउटा सशक्त उदाहरण बनेको छ।
यो घटनाले आजको समाजमा छोरीहरू पनि छोरा सरह सबै सामाजिक, धार्मिक र पारिवारिक जिम्मेवारी वहन गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ।










