हेटौंडा । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध नाइट्राजेपाम २०० पिस ट्याबलेटसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार इन्द्रसरोबर गाउँपालिका–२ स्थित सिमखोला, कुलेखानी–काठमाडौँ सडकखण्डमा प्रहरी चौकी खानिखेतबाट खटिएको प्रहरी टोलीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो।
कुलेखानीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५१ प २२०९ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा चालक रौतहट जिल्ला परोहा नगरपालिका–६ निवासी २३ वर्षीय शेख महफुल आलम र पछाडि सवार सोही स्थानका २० वर्षीय शाहिल शेख शंकास्पद देखिएपछि खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा मोटरसाइकलको सिटमुनि प्लास्टिकको पोकोभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा प्रतिबन्धित लागूऔषध नाइट्राजेपाम २०० पिस ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।











