हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साझ भएको सुमो दुर्घटनामा घाइते तथा मृत्यु हुनेहरूको सनाखत खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा सवार ९ जनाको उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन्।
घाइते हुनेहरूमा सुमो चालक हेटौँडा–४ कर्राचोक बस्ने अन्दाजी ४०/४५ वर्षीय गणेश थापा रहेका छन्। उनको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ। त्यसैगरी हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्सालको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ र उनलाई पनि भरतपुर रिफर गरिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको छ।
उपचारका क्रममा मृत्यु हुनेहरूमा भारत बिहार राज्यको पटना बस्ने ४२ वर्षीय रजनिस कुमार, हेटौँडा–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्यकै बेगुसराई बस्ने अन्दाजी ४९/५० वर्षीय अरबिन्द कुमार रहेका छन्। त्यसैगरी नाम, थर र वतन नखुलेका अन्दाजी ३५/३६ वर्षीय तथा ४० वर्षीय दुई पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।










