हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरमा लामो समयदेखि जिल्ला समन्वय अधिकारी नआइपुग्दा प्रशासनिक तथा आर्थिक कामकाज लथालिङ्ग भएको छ।
जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा कार्तिक ११ गते रौतहटको गुजरा नगरपालिकामा सरुवा भएसँगै कार्यालय नेतृत्वविहीन बनेको हो।
उनको स्थानमा कमला घिमिरे सरुवा भएर आए पनि उनी सरुवा हुँदा विदेश भ्रमणमा रहेकाले कार्यालयमा समय दिन सकिनन्। नेपाल फर्किएपछि समेत उनले कार्यालय सम्हाल्न नपाउँदै पुनः अन्यत्र सरुवा भइन्।
त्यसपछि विष्णु प्रसाद पौडेलको नाम सरुवा सूचीमा परे पनि पुस ८ गते सरुवा भएको भए तापनि हालसम्म उनले हाजिरी नगरेको जिल्ला समन्वय समितिले जनाएको छ। उनको सरुवा सम्बन्धी चिठी र आगमनबारे कुनै आधिकारिक जानकारी समेत नआएको बताइएको छ।
जिल्ला समन्वय समितिकी सूचना अधिकारी इन्दिरा पौडेलका अनुसार जिल्ला समन्वय अधिकारी नहुँदा आर्थिक प्रशासन सञ्चालन हुन सकेको छैन् । “हाकिम नहुँदा अधिकार प्रयोग गर्न नसक्ने अवस्था आएको छ, आर्थिक कामहरू रोकिने गरेका छन्,” उनले भनिन्। अधिकारी कहिले आउने भन्ने विषयमा कुनै सूचना नआएकाले समन्वय अन्यौलमै रहेको उनको भनाइ छ।
जिल्ला समन्वय प्रमुख ललित घलानले भने करिब एक हप्ता अघि इमेलमार्फत पत्र प्राप्त भएको जानकारी दिए। “पहिलो कार्यालयको काम सकेर आउने कुरा छ। तर उहाँ नआउँदा आर्थिक प्रशासनका काम ठप्प छन्। अब त आइपुग्नुपर्ने हो,” उनले भने।










