सीप, सम्मान र आत्मनिर्भरतातर्फ सिआनको पहल

हेटौंडा।उपचाररत व्यक्तिहरूलाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सिआन पुनर्स्थापना केन्द्र, हेटौंडा–९, मकवानपुरको आयोजनामा सञ्चालन गरिएको १५ दिने कफी बनाउने (बारिस्ता) तालिम आज औपचारिक रूपमा सम्पन्न भएको छ।

समापन कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका माननीय मन्त्री मधुसुदन पौडेलज्यूको प्रमुख आतिथ्यतामा सिआन भवनमा सम्पन्न भएको हो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय एकालाल श्रेष्ठज्यू, पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्ट्रिजका प्रशासन प्रमुख रवीन्द्र पण्डितज्यू, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालज्यू, गैसस मकवानपुरकी अध्यक्ष रमिला सापकोटाज्यू, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रतिनिधि राज नारायण सर, उद्योग तथा वाणिज्य कार्यालय शाखा प्रमुख लेखमान राउतज्यू, सिआनका पूर्व अध्यक्ष बिजेन्द्र अग्रवालज्यू, सल्लाहकार सानु लामाज्यू, कानुनी सल्लाहकार सन्तोष पौडेलज्यू, अभिभावक तथा सल्लाहकार महेश्वर मान श्रेष्ठज्यू, प्रशिक्षक सरोज बर्तौलाज्यू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री मधुसुदन पौडेलज्यूले उपचारसँगै सीप विकास जोडिनु नै दिगो पुनःस्थापनाको आधार भएको उल्लेख गर्नुभयो। उहाँले सीपयुक्त जनशक्ति विकासमार्फत रोजगारी र आत्मनिर्भरता सम्भव हुने बताउँदै सिआनले अघि सारेको मोडेल प्रदेश तथा देशकै लागि अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि माननीय एकालाल श्रेष्ठज्यूले सीपयुक्त जनशक्ति विकासले समाजलाई दीर्घकालीन रूपमा सुरक्षित र समुन्नत बनाउने बताउनुभयो।

पूर्व डीआईजी तथा हुलास स्टिल इन्डस्ट्रिजका प्रमुख रवीन्द्र पण्डितज्यूले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीपयुक्त व्यक्तिहरूलाई अवसर दिन उद्योग क्षेत्र तयार रहेको स्पष्ट पार्नुभयो।

उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालज्यूले सरकारी निकायहरू सीप विकासमार्फत रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको जानकारी दिनुभयो।

समापन कार्यक्रमका अवसरमा श्री दिवाकर गोल्छा प्रतिष्ठान तथा हुलास स्टिल इन्डस्ट्रिजले सिआन पुनर्स्थापना केन्द्रलाई पुर्‍याउँदै आएको सहयोगको कदरस्वरूप सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो।

यसै अवसरमा सिआन पुनर्स्थापना केन्द्रले लागुऔषध दुर्व्यसन, मानसिक स्वास्थ्य र पुनःस्थापनासम्बन्धी यथार्थ चित्रण गर्ने सचेतनामूलक डकुमेन्ट्री सार्वजनिक गरेको छ। डकुमेन्ट्रीमा लागुऔषध दुर्व्यसन, मानसिक स्वास्थ्य समस्या, उपचार प्रक्रिया, पुनःस्थापना, सामाजिक पुनःएकीकरण तथा परिवारको भूमिकालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। यसले समाजमा रहेका गलत धारणा तोड्दै पुनःस्थापनाप्रति सकारात्मक सोच विकास गर्ने अपेक्षा गरिएको छ।

१५ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा ५० जना उपचाररत तथा पुनःस्थापनाको चरणमा रहेका व्यक्तिहरू सहभागी भएका थिए। तालिममार्फत सहभागीहरूले कफी बनाउने व्यावहारिक सीप, बारिस्ता आचारसंहिता तथा ग्राहक सेवासम्बन्धी ज्ञान हासिल गर्दै आत्मविश्वास र भविष्यप्रतिको आशा विकास गरेको सिआनले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.