हेटौंडा । मानव अधिकारको लागि महिला एकल महिला समूह मकवानपुरले हेटौंडा उपमहानगरपालिका भित्र सीमान्तकृत महिला तथा एकल महिलाको सशक्तीकरणका लागि सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमहरूको सम्बन्धित निकायले स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामा, वडा नं. ११ का वडा अध्यक्ष जुना दाहाल, गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटालगायतसँग समूहको गतिविधिबारे छलफल गरिएको थियो। छलफल पश्चात् समूहले सञ्चालन गरेका आयआर्जन तथा सीपमूलक कार्यक्रमहरूको अवलोकन गरिएको हो।
अनुगमन टोलीले हेटौंडा–३ बसामाडीमा एकल महिलाले सञ्चालन गरेको धूप बनाउने कार्य, हेटौंडा–१६ मा एकल महिला तथा सीमान्तकृत समुदायका परिवारलाई बाख्रापालनका लागि गरिएको सहयोग तथा हेटौंडा–१७ मा सञ्चालन गरिएको सिलाइकटाइ व्यवसायको अनुगमन गरेको थियो।
मानव अधिकारको लागि महिला एकल महिला समूह मकवानपुरको गतिविधि र हाल भइरहेका कामको अवलोकन गर्न प्रोजेक्ट कुर्भे उस्ट्रोको टोलीले समेत स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा नगरपालिकाले एकल महिलाका लागि सञ्चालन गरिएका १९ वटा वडामा संचालन भएको परियोजनामा निरन्तर सहयोग रहने र भविष्यमा एकल महिलाको हितका लागि नगरपालिकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा चासो व्यक्त गरिएको थियो।
नगरप्रमुख मिना कुमारी लामाले नगरपालिकाले एकल महिलालाई भवन निर्माणका लागि सहयोग गर्दै आएको बताउँदै एकल महिलाले कार्यक्रमहरू औपचारिकताका लागि मात्र नभई एकल महिलाको दीर्घकालीन हित हुने गरी सञ्चालन गरिएको स्पष्ट पारिन्।
अनुगमन टोलीले समग्रमा कार्यक्रम प्रभावकारी रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा देखिन सक्ने नयाँ समस्या र आवश्यकताका विषयमा छलफल गरेको थियो। छलफलका क्रममा संस्थाकी अध्यक्ष शारदा चौलागाईंले एकल महिलाका लागि तनाव व्यवस्थापन तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिमको व्यवस्था गर्न अनुरोध गरेकी थिइन्।
अनुगमन कार्यक्रममा टोली प्रमुख मिन बहादुर बस्नेत, नागरिक प्रतिनिधि बद्री कुमार कार्की, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि, सामाजिक कल्याण परिषद्की दीक्षा आचार्य, कुर्भे उस्ट्रोकी काउन्टी समन्वयकर्ता चार्लोट बोएट्जर, कार्यक्रम समन्वयकर्ता भिम परियार, मानव अधिकारको लागि महिला एकल महिला समूह बागमती प्रदेश अधिकृत अप्सरा अर्याल, सचिव कल्पना सुवेदीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।










