हेटौंडा । मकवानपुरगढी मनकामना सामुदायिक वन उपभोक्ता समूहको २४औँ वार्षिक साधारणसभा तथा ९औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्कलाल लोको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका–४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष लोले सचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कोषाध्यक्ष शान्ति घलानले कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित आम्दानी तथा खर्च १९ लाख ७७ हजार ४ सय २३ रुपैयाँ रहने जानकारी दिइन्।
साधारणसभाको अवसरमा विभिन्न विधामा चार जनालाई सम्मान गरिएको थियो भने निम्न वर्गीय विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको थियो।
कार्यक्रममा सामुदायिक वन स्थानीय महासंघका अध्यक्ष बाराम अधिकारी, सब डिभिजन वन कार्यालय मकवानपुरगढीका प्रमुख हरिराम खड्का, वडा सदस्यहरू तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले सर्कलाल लोको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा बलराम हुमागाइ, सचिवमा सोना गुरुङ, सह–सचिवमा विविसा रुम्बा चयन भएका छन्। त्यस्तै सदस्यहरूमा शान्ति गोले, ज्योति सुवेदी, पञ्चबहादुर परियार, दिपेश थिङ, पूर्णबहादुर भ्लोन र धनमाया महर्जन रहेका छन्।
निर्वाचन समिति संयोजकमा बलराम अधिकारी रहेका थिए भने सदस्यहरूमा कृष्णबहादुर खड्का र चन्द्रप्रसाद घिमिरे रहेका थिए।









