सजनलाल प्रधान क्षयरोग निवारण संस्था मकवानपुर शाखाको सभापतिमा पदस्थापित

हेटौंडा । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरको सभापतिमा सजनलाल प्रधान पदस्थापित भएका छन्। मंगलबार सम्पन्न संस्थाको प्रथम पदस्थापन कार्यक्रमबाट प्रधान सभापतिमा पदस्थापित भएका हुन्।

२०८२ पुष १५ गते सम्पन्न संस्थाको प्रथम भेलाबाट प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो। शाखाको उपसभापतिमा विश्व नारायण श्रेष्ठ, सचिवमा गंगाप्रसाद पौडेल, कोषाध्यक्षमा सर्मिला श्रेष्ठ तथा सहसचिवमा विकास बज्राचार्य पदस्थापित भएका छन्।

यसैगरी सदस्यहरूमा लक्ष्मी श्रेष्ठ, सरोज चौलागाई, प्रमिला खतिवडा, सुष्मा मैनाली, निगेन्द्रलाल श्रेष्ठ, विनोद पण्डित, डा. सगर मैनाली र विन्ती कुमारी श्रेष्ठ रहेका छन्।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्र बहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रधानले क्षयरोग विरुद्ध जनचेतना जगाउने उद्देश्यले संस्था दर्ता भई देशभर शाखा विस्तार गरिएको बताए। क्षयरोगसम्बन्धी जानकारीको अभावका कारण आम नागरिकले भोग्नुपरेको पीडा कम गर्न संस्थाले सक्रिय भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे।

स्थानीय सरकारसँग समन्वय गरी ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै क्षयरोगसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्न उनले शाखालाई आग्रहसमेत गरे।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका मनिर आलम, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा ललितपुरका सचिव शम्भु गोविन्द ताम्राकार, नेपाल औषधि व्यवसायी संघ ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, संस्थाका निर्वाचन अधिकृत सम्राटमान जोशी तथा सल्लाहकार विजेन्द्र अग्रवाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा निर्वाचन अधिकृत सम्राटमान जोशीले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.