हेटौंडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव बुधबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित समापन कार्यक्रममा शिक्षक, कर्मचारी, सहयोगी तथा हाजिरीजवाफ प्रतियोगिताका विजेता–उपविजेतालाई पुरस्कृत गर्दै महोत्सवको औपचारिक समापन गरिएको हो।
स्वर्ण महोत्सव आयोजक मूल समारोह समितिको संयोजन तथा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा रहनु भएको थियो। समापन कार्यक्रममा विद्यार्थीहरूले आकर्षक साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
स्वर्ण महोत्सवको अवसरमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम हुँदै ५० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
यस्तै, हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमी द्वितीय, हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालय तृतीय तथा हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन्। द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यालयको बाल समूहको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयको सहकार्यमा सम्पन्न प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरी ३६ वटा विद्यालयको सहभागिता रहेको थियो। स्वर्ण महोत्सवका अवसरमा शैक्षिक, सांस्कृतिक तथा विविध रचनात्मक कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो।









