हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९, लेखपानीमा अवस्थित जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई किवानिज क्लब अफ हेटौंडाले खाद्यान्न सहयोग गरेको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबले ३९ जना विद्यार्थीलाई दिवा खाजाका लागि ३५ बोरा चामल हस्तान्तरण गरेको हो। विद्यालयका धेरै विद्यार्थीहरू घरमा खानाको अभावका कारण भोकै विद्यालय आउने तथा नियमित रूपमा पढाइमा सहभागी हुन नसक्ने अवस्था देखिएपछि समाजसेवी कमल चन्द्र सुमन र हिमा बिडारीको पहलमा किवानिज क्लबले सहयोग उपलब्ध गराएको जनाएको छ।
कार्यक्रममा बोल्दै किवानिज क्लब अफ हेटौंडाका अध्यक्ष रत्नदेव बज्राचार्यले महानगरपालिकाभित्रै यति दयनीय अवस्था देखिनु दुःखद भएको बताउँदै आवश्यक परेमा क्लबले पुनः सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
रत्नदेव बज्राचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष कालिबहादुर घलान, विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोले, विद्यालय व्यवस्थापन समितिका सदस्य भिमलाल गोले, किवानिज क्लबका निवर्तमान अध्यक्ष गंगाप्रसाद पौडेल, सचिव सृजनराज बज्राचार्य, प्रथम महिला निजिला शाक्य, समाजसेवी कमल चन्द्र सुमन, हिमा बिडारीलगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले दाताहरूको सहयोगपछि विद्यालयमा उल्लेखनीय सुधार आएको बताए। “विद्यार्थीको नियमितता बढेको छ, पढाइप्रतिको आकर्षण पनि बढेको छ,” उनले भने।
उक्त खाद्यान्न सामग्री किवानिज क्लबका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्य तथा हेटौंडा मोडल अस्पतालका सञ्चालक डा. बसन्तमान श्रेष्ठको सौजन्यमा प्राप्त भएको हो।
किवानिज क्लब अफ हेटौंडा सन् २०२१ मा स्थापना भएको हो भने किवानिज इन्टरनेशनल सन् १९१५ मा अमेरिकामा स्थापना भएको संस्था हो। बालबालिकाको सर्वाङ्गीण विकासलाई लक्ष्य गर्दै स्थापना गरिएको यस संस्थाले हाल नेपालका ६५ भन्दा बढी जिल्लामा शिक्षा, स्वास्थ्य, नेतृत्व विकास, खेलकुद तथा वातावरणका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।









