मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, सामाजिक अभियन्ताहरू सन्त लामा, सन्त गौतम र भुवन मैनालीको उपस्थितिमा सिआन पुनर्स्थापना केन्द्रको अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भ्रमणका क्रममा केन्द्रमा सञ्चालनमा रहेका उपचार, पुनर्स्थापना, मनोसामाजिक परामर्श, सामाजिक पुनःएकीकरण, कृषि तथा पशुपन्छी पालनसम्बन्धी गतिविधिहरूको स्थलगत अवलोकन गरिएको थियो।
साथै केन्द्रका प्रतिनिधि तथा उपचाररत व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापनाको क्षेत्रमा सिआन पुनर्स्थापना केन्द्रले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे । उनले यस किसिमका संस्थाहरूसँग स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने तथा आगामी बजेट निर्माण प्रक्रियामा समेत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सकारात्मक उद्देश्यका साथ समाज रूपान्तरणको अभियानमा निरन्तर क्रियाशील रहँदै आएकोमा उनले सिआन पुनर्स्थापना केन्द्रप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूले दुर्व्यसन विरुद्धको अभियान सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने धारणा व्यक्त गरेका थिए ।











