एकपटक जिताएर जनताको सेवा गर्ने मौका दिनुहोस् : महालक्ष्मी उपाध्याय ‘डिना’

हेटौंडा। नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले आफू चुनाव हार्दा पनि मकवानपुरको विकासमा निरन्तर लागिपरेको बताउँदै यसपटक जिताएर सेवा गर्ने अवसर दिन आग्रह गरेकी छन्।

सोमबार नेपाली कांग्रेस हेटौंडा–८ वडा समितिले आयोजना गरेको क्रियाशील सदस्यहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले भनिन्, “मलाई सांसद बन्नका लागि धेरै विकल्पहरू थिए। यसपटक पनि राष्ट्रियसभा सदस्य बन्न प्रस्ताव आएको थियो, तर म जनताबाट अनुमोदन भएर नै संसद्‌मा जाने दृढ विश्वासका साथ अन्तिम पटक प्रतिस्पर्धामा उत्रिएकी हुँ।”

उनले बद्लिएको कांग्रेसले मुलुक बनाउने अभियानका साथ देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको दाबी गर्दै यसपटक मकवानपुरसहित देशभर कांग्रेस विजयी हुने विश्वास व्यक्त गरिन्। कांग्रेसका सभापति, पदाधिकारी, मकवानपुर जिल्लाका नेताहरू तथा आम मतदाताको आग्रहमा आफू उम्मेदवार बनेको उनको भनाइ थियो।

“पदमा नहुँदा पनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर काम गरिरहेँ। यसपटक जितेर जनतासँग पाँच वर्ष सँगसँगै रहेर काम गर्नेछु,” कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्रीसमेत रहेकी उपाध्यायले भनिन्।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले बद्लिएको कांग्रेसले अब देश पनि बदल्ने दाबी गरे। मकवानपुरको विकास र समृद्धिका लागि योजनाबद्ध युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउन जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउनुपर्ने उनको भनाइ थियो।

कांग्रेस हेटौंडा–८ वडा निर्वाचन परिचालन समिति संयोजक हरिप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ८ का लागि कांग्रेसका प्रतिनिधि रामकृष्ण कोइराला, कार्यबाहक वडा सभापति शम्भुप्रसाद दुलाललगायतले कांग्रेसको पक्षमा राम्रो जनलहर सिर्जना भएको बताउँदै मतान्तर बढाउने गरी घरदैलो अभियानमा सक्रिय हुन आग्रह गरे।

कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारहरू सर्मिला श्रेष्ठ र पवित्रा विश्वकर्मासहित कांग्रेस मकवानपुरका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.