अख्तियारलाई सस्तो लोकप्रियताभन्दा परिणाममुखी काममा जोड दिन प्रदेश प्रमुखको आग्रह

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सार्वजनिक पदमा रहेका व्यक्तिहरू स्वच्छ, इमान्दार र कानुनी दायराभित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा हेटौँडास्थित कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अख्तियारको प्रत्येक गतिविधिलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गरे।

उहाँले परिणाममुखी कार्यसम्पादनमार्फत जनविश्वास जित्नुपर्ने बताउँदै संख्यात्मक उपलब्धि वा सस्तो लोकप्रियताको पछि नलाग्न सचेत गराए । सुशासन र कानूनी सर्वोच्चताको संस्कार विद्यालय तहदेखि नै विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचार नियन्त्रण मात्र नभई यसको निर्मूल नै गर्नुपर्ने धारणा राख्नुभयो। राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रले ‘भ्रष्टाचार गर्दैनौँ, गर्न पनि दिँदैनौँ’ भन्ने प्रतिबद्धता व्यवहारमै उतार्नुपर्ने उनको भनाइ थियो। अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास आयोजनासम्बन्धी उजुरीहरू छिटो टुंगो लगाइनुपर्नेमा जोड दिए। बजेट खर्च हुन नसक्दा सरकार असफल देखिने सन्दर्भमा फाइलहरू अख्तियारमा लामो समय पेन्डिङ रहनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईले अख्तियारको काम घट्दै जानु नै सुशासन सुदृढ हुँदै गएको संकेत भएको बताइन् । कानुन स्पष्ट र प्रभावकारी हुँदा अख्तियार दुरुपयोगका घटना कम हुने धारणा राख्दै उहाँले प्रदेशसभा र अख्तियारबीच समन्वय आवश्यक रहेको उल्लेख गरिन।

कार्यालय प्रमुख रामकृष्ण पुडासैनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २ हजार ७ सय ६६ उजुरीमध्ये १ हजार ९ सय ४८ उजुरी फछ्र्यौट भई ७० दशमलव ४२ प्रतिशत प्रगति हासिल भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा ८ सय १८ उजुरी जिम्मेवारी सरेर आएको र हालसम्म ९ सय ५८ नयाँ उजुरी दर्ता भएका छन्। हाल १ हजार ४५ उजुरी छानबिनको क्रममा रहेको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.