हेटौंडा उपमहानगरपालिका मा बालमैत्री घोषणा प्रथम वार्षिकोत्सव सम्पन्न
नगरस्तरीय रिले दौडमा वडा नं. ८ प्रथम

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा प्रथम वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजना तथा बाल हेल्पलाइन (सिविन) को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।

सो अवसरमा नगरस्तरीय बाल समूह सञ्जालद्वारा आयोजित रिले दौड प्रतियोगितामा वडा नं. ८ प्रथम, वडा नं. १६ द्वितीय, वडा नं. ७ तृतीय तथा वडा नं. २ सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। विजयी टोलीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। रिले दौडमा उपमहानगरपालिकाका  १९ वटै वडाबाट बालबालिकाहरूको उत्साहजनक सहभागिता थियो।

कार्यक्रममा नगरस्तरीय बाल समूह सञ्जालका सदस्य निश्चल ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। बालजागृति बोर्डिङ स्कूलका विद्यार्थीहरूले “एक पटक सोचौं, अघि बढौं” भन्ने सन्देशसहित बालमैत्री विषयक सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए।

वडा नं. ९ की सदस्य कमला पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १६ का अध्यक्ष गुरु प्रसाद ढकाल, उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विष्णु कुमारी लामिछाने, सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवाली, बालमैत्री सम्पर्क व्यक्ति, विभिन्न शाखा प्रमुख तथा बालमैत्री नगर सञ्जाल समितिका प्रतिनिधिहरूको उपस्थिति  थियो।

कार्यक्रमले बालअधिकार, सहभागिता र बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.