आचारसंहिता उल्लंघन गर्दै रास्वपाको चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मकवानपुरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेको छ।

सोमबार हेटौंडा–४ हुप्राचौरमा रास्वपा मकवानपुरको आयोजनामा भएको “हामी आयौं” परिवर्तन उद्घोष सभामा केही बालबालिका पार्टीको झण्डा बोकेको, घण्टी बजाउँदै हिँडेको, टोपी लगाएको तथा झण्डा काँधमा ओढेर प्रचारमा संलग्न भएको दृश्य सार्वजनिक भएको हो।

मकवानपुरमा आसन्न निर्वाचनको सन्दर्भमा बालअधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले माघ २८ गते राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न लिखित अपिल गरेका थिए। उक्त पत्र रास्वपाले पनि बुझ्दै बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

तर सोमबारको कार्यक्रममा विद्यालय पोसाकमै बालबालिकालाई पार्टीको झण्डा बोकाएर र घण्टी बजाउँदै प्रचारमा संलग्न गराइएको आरोप लागेपछि बालअधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद–२ को दफा ४ (ग) र (छ) तथा परिच्छेद–४ को दफा १३ (ट) मा शैक्षिक संस्था प्रयोग गरी प्रचारप्रसार गर्न तथा बालबालिकालाई निर्वाचन प्रचार, आमसभा र जुलुसमा प्रयोग गर्न निषेध गरिएको छ।

त्यस्तै, नेपालको संविधान २०७२, बालबालिका सम्बन्धी ऐन २०७५, बालअधिकार सम्बन्धी महासन्धि १९८९, राष्ट्रिय बालबालिका नीति २०८० तथा दिगो विकास लक्ष्यलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बालबालिकाको हक, हित र अधिकार संरक्षणमा राज्य प्रतिबद्ध रहेको उल्लेख गर्दै बालअधिकारसम्बद्ध संस्थाहरूले निर्वाचन गतिविधिमा बालबालिकाको प्रयोग वा दुरुपयोग हुनु गम्भीर विषय भएको जनाएका छन्।

क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने प्रमुख अतिथि तथा सह–प्रवक्ता रमेश प्रसाईं विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

बालगृहहरूको सञ्जाल (सिनेट) मकवानपुरका अध्यक्ष तथा सिविनका प्रबन्धक झबिन्द्र ज्ञवालीले राजनीतिक दलहरूको चुनावी प्रचारमा बालबालिकालाई संलग्न गराइनु दुःखद र बालअधिकारको ठाडो उल्लङ्घन भएको बताएका छन् ।

उनले यस्तो गम्भीर विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिए । साथै, आगामी दिनमा चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरे।
आयोजकका अनुसार कार्यक्रममा करिब तीन हजार सर्वसाधारणको सहभागिता थियो।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.