मकवानपुरमा मतदान सुरु,१ सय ६७ मतदानस्थलमा ३ लाखभन्दा बढी मतदाता मतदान गर्दै

मकवानपुरमा फागुन २१ का लागि तय गरिएको निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सुरु भएको हो।

निर्वाचनका लागि मकवानपुरभर १०२ वडामा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। तीमध्ये मकवानपुर–१ मा १ लाख ५८ हजार ४३४ र मकवानपुर–२ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।

निर्वाचन व्यवस्थापनका लागि जिल्लामा दुईवटा अस्थायी मतदानस्थल पनि राखिएको छ। भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक–एक मतदानस्थल स्थापना गरिएको छ। भीमफेदी कारागारमा महिला र पुरुष गरी ९ सय ९५ कैदीबन्दी भए पनि मतदाता नामावलीमा भने ७५ जनाको मात्रै नाम रहेको छ। तीमध्ये ३ जना महिला र ७२ जना पुरुष मतदाता रहेका छन्।

जिल्लामा रहेका मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताका आधारमा १९ मतदानस्थललाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ मतदानस्थललाई सामान्य श्रेणीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले १० स्थानीय तहमध्ये ६ स्थानीय तहका मतदानस्थललाई अति संवेदनशील सूचीमा समावेश गरेको हो।

अति संवेदनशील सूचीमा सबैभन्दा धेरै बकैया गाउँपालिकाका ५ मतदानस्थल र ७ मतदान केन्द्र रहेका छन्। यस्तै राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल, बागमती गाउँपालिकामा ५ मतदानस्थल, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल, मनहरी गाउँपालिकामा १ मतदानस्थल तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ।

यसैगरी जिल्लाका ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा परेका छन्। तीमध्ये हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, राक्सिराङ, बकैया, बागमती, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, कैलाश र मनहरीका विभिन्न मतदानस्थलहरू संवेदनशील मानिएका छन्।

मकवानपुर–१ नम्बर निर्वाचन क्षेत्रमा ६२ मतदानस्थलमा १७८ मतदान केन्द्र रहेका छन् भने मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रमा १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र रहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.