हेटौँडा । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनमा मकवानपुर जिल्लामा ५९ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल ३ लाख १५ हजार ४ सय ३४ मतदातामध्ये करिब १ लाख ८६ हजार ५ सय ५१ मत खसेको हो।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो। मतदान सकिएसँगै अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ ल्याउने काम भइरहेको छ।
हेटौँडा उपमहानगरपालिकाभित्र रहेका मतदान केन्द्रका मतपेटिका भुटनदेवी माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा ल्याइँदैछन्। जिल्लाका अन्य स्थानीय तहका मतदान केन्द्रबाट पनि आजै मतपेटिका ल्याउने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
मकवानपुरको भौगोलिक अवस्थाका कारण केही मतदान केन्द्रका मतपेटिका भने छिमेकी जिल्लाको सडकमार्ग प्रयोग गरेर ल्याउनुपर्ने भएको छ। क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै ल्याइनेछ।
बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमरा मतदान केन्द्रका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछन् भने बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका बारा जिल्लाको निजगढ हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो।
त्यसैगरी क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने राक्सिराङ गाउँपालिकाका केही मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइने भएको छ। वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर–७ का सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय तथा वडा नम्बर–८ स्थित ठूलो तोड्के माविका मतपेटिका चितवनको राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणना स्थलमा ल्याइनेछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिनेछ।
प्रतिकृया दिनुहोस्










