मकवानपुर । हेटौंडा –५ पिप्लेस्थित राधाकृष्ण मन्दिर नजिक चैत १२ गते राति करिब ८:४० बजे एक व्यक्तिमाथि घरेलु हतियार (चक्कु) प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडक पेटीमा घाइते अवस्थामा रौतहट चन्द्रपुर नगरपालिका २ जुडिबेला घर भई घर बनाउने मिस्त्रिको काम गर्ने हाल हेटौंडा -५ पिप्ले डेरा गरी वर्ष ३५ को घनश्याम थापा तत्काल उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो।
घाइतेको दाहिने–बायाँ कोखा, दुवै हात, पेट तथा मुखमा चोट लागेको अवस्थामा रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ।
हाल उनको पेटको शल्यक्रिया सम्पन्न भई नयाँ मेडिकल कलेज भरतपुरको आईसीयूमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको बताइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घाइतेले आफूसँगै काम गर्ने प्रतिक पौडेलले चक्कु प्रहार गरेको बताएका छन्। घटनास्थलबाट एक थान चक्कु समेत बरामद गरिएको थियोे । थप सोधपुछका क्रममा घाइतेले आरोपितकी श्रीमतीको विषयमा आपत्तिजनक टिप्पणी गरेपछि विवाद बढी आक्रमण भएको खुल्न आएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका इलाम देउमाई नगरपालिका–२ का ३४ वर्षीय प्रतिक पौडेल ( गोपाल पौडेल) लाई खोजतलासका क्रममा मोरङ कानेपोखरी गाउँपालिका–७ आइतबारे चोकबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा उनलाई नियन्त्रणमा लिई मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।











