हेटौंडा । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरमा महिलासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार “सबै महिला र बालिकाका लागि: अधिकार, समानता र सशक्तीकरण” भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम सिआनको आयोजना तथा गैसस महासंघ मकवानपुरको समन्वयमा सिआन क्षति न्यूनीकरण परियोजना अन्तर्गत सम्पन्न भएको हो। उक्त कार्यक्रमलाई रिकभरिङ नेपाल र भिभ हेल्थकेयर पोजिटिभ एक्सनले सहयोग गरेका थिए भने माइती नेपालले सहजीकरण गरेको थियो।
गैरसरकारी संस्था महासंघ मकवानपुरकी जिल्ला अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–९ की वडा सदस्य कमला पौडेल प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा सिआन पुरुष पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसी, मानवअधिकारकर्मी विनोद ढकाल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ५० जना महिलाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले लैङ्गिक हिंसा तथा घरेलु हिंसा विरुद्धका कानुनी व्यवस्था, लैङ्गिक हिंसाका प्रकार, त्यसका चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण दिएकी थिइन्।
महिला दिवसकै अवसरमा महिला पुनर्स्थापना केन्द्रमा उपचाररत महिलाहरूलाई भाषण कला तालिम पनि प्रदान गरिएको थियो। यसैबीच, हेटौंडा–९ स्थित लाम्सुरेहाइटमा रहेको महिला सिआन पुनर्स्थापना केन्द्रलाई हेटौंडा लेडी जेसीजले सेनिटरी प्याड वितरण गरेको केन्द्रकी सञ्चालक तान्या अग्रवालले जानकारी दिइन्।
हाल उक्त महिला पुनर्स्थापना केन्द्रमा २३ जना महिला उपचाररत रहेका छन्। करिब दुई वर्षअघि सञ्चालनमा आएको यो केन्द्र मकवानपुर जिल्लाको एकमात्र महिला पुनर्स्थापना केन्द्र भएको बताइएको छ।












