हेटौंडा । स्वच्छ निर्वाचनका लागि सक्रिय नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै सरकारप्रति आभार व्यक्त गरेको छ। अभियानका प्रतिनिधिहरूले सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका हुन्।
अभियानका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष विजयराज गौतम, नेपाल मानव अधिकार संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालसहितको टोलीले गृहमन्त्री अर्याललाई भेटेर धन्यवाद ज्ञापन गरेको बताइएको छ। उनीहरूले विषम परिस्थितिका बाबजुद पनि देशभरि निष्पक्ष, भयरहित र व्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार तथा सम्बन्धित निकायले गरेको तयारी सराहनीय रहेको बताएका छन्।
भेटका क्रममा गृहमन्त्री अर्यालले पनि निर्वाचन सफल बनाउन योगदान गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेका थिए। उनले लोकतान्त्रिक प्रणालीमा जनादेश प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै यसले संविधान कार्यान्वयन र नागरिकका अधिकार संस्थागत गर्न थप बल पुर्याउने विश्वास व्यक्त गरे।
नागरिक अभियानले निर्वाचन अवधिभर कायम गरिएको शान्तिसुरक्षा, मतदाताको उत्साहजनक सहभागिता तथा निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउन सरकारले गरेको पहलले लोकतन्त्रप्रतिको आस्था थप मजबुत भएको जनाएको छ।
अभियानले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनमा सरकारको सक्रियता कायम रहने अपेक्षा व्यक्त गरेको छ।











