हेटौंडा । लागूऔषध प्रयोगकर्ता समुदायको मानवअधिकार संरक्षण, पुनःस्थापना सेवा सुदृढीकरण तथा सरोकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले रिकभरीङ नेपाल बागमती प्रदेश समितिको पहलमा एक समन्वय बैठक सम्पन्न भएको छ।
रिकभरीङ नेपाल बागमती प्रदेश समितिका उपाध्यक्ष रोशन सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईं प्रमुख अतिथि रहेका थिए। कार्यक्रम सञ्चालन तथा समन्वय रिकभरीङ नेपालका प्रदेशीय फोकल पर्सन मनीष मान श्रेष्ठले गरेका थिए।
बैठकमा लागूऔषध प्रयोगकर्ता समुदायसँग सम्बन्धित मानवअधिकारको अवस्था, पुनःस्थापना सेवाको गुणस्तर अभिवृद्धि, अनुगमन तथा प्रतिवेदन प्रणाली सुदृढीकरण, संस्थागत समन्वय तथा संयुक्त कार्यक्रम सञ्चालनका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। साथै पुनःस्थापना केन्द्र सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड पूरा गर्न सहयोग पुर्याउने तथा मानवअधिकारमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने विषयमा समेत विचार–विमर्श गरिएको थियो।
कार्यक्रममा मकवानपुर रिकभरीङ समूहका प्रतिनिधि उद्धव केसी, महिला मुक्ति समाजकी महासचिव सिश्मिता आले, सिआन पुनःस्थापना केन्द्रका प्रतिनिधि राहुल सुवेदी, फ्रेन्ड्स हेटौंडाका प्रतिनिधि विनोद ढकाल तथा राष्ट्रिय मानव अधिकार आयोगका अधिकारी जयेश्वर चापागाईं र नवल किशोर सिंहलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले लागूऔषध प्रयोगकर्ता समुदायको मानवअधिकार संरक्षण, पुनःस्थापना सेवाको सुधार तथा समुदाय–आधारित कार्यक्रमहरू प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच सहकार्य र समन्वय अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
बैठकले आगामी दिनमा मानवअधिकार संरक्षण, पुनःस्थापना सेवा सुधार तथा समुदाय सशक्तीकरणका क्षेत्रमा संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने सहमति व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।









