हेटौंडा । सार्वजनिक स्वास्थ्य, मानव अधिकार र सामाजिक समावेशीतासम्बन्धी महत्वपूर्ण विषयमा केन्द्रित उच्चस्तरीय परामर्श बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठक रिकभरीङ नेपाल वुमन्सका केन्द्रीय अध्यक्ष हेमा श्रेष्ठको सभाध्यक्षतामा आयोजना गरिएको थियो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकमा बागमती प्रदेशमा रहेका लैङ्गिक अल्पसंख्यक समुदाय, लागूऔषध दुर्व्यसनी, एचआईभी तथा हेपाटाइटिसबाट प्रभावित व्यक्तिहरूको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले मकवानपुर जिल्लाको यथार्थ अवस्था, उपलब्ध सेवा, कार्यक्रमको प्रभावकारिता, तथ्यांक व्यवस्थापन तथा सरोकारवाला निकायहरूबीचको समन्वयका विषयमा धारणा राख्दै सुधारका लागि व्यावहारिक सुझाव प्रस्तुत गरेका थिए।
विशेषगरी स्वास्थ्य सेवामा सहज पहुँच, सामाजिक भेदभावको अन्त्य तथा लक्षित समुदायको सशक्तीकरणका विषयमा केन्द्रित छलफलले कार्यक्रमलाई अझ सार्थक बनाएको थियो।
प्रमुख अतिथि ललित बहादुर घलानले मानव अधिकारमैत्री र समावेशी स्वास्थ्य प्रणाली निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तहबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले जोखिममा रहेका समुदायहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार, रोकथाम र उपचारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधिले जिल्लास्तरमा सञ्चालन भइरहेका कार्यक्रमलाई सुदृढ गर्दै बहु–क्षेत्रीय समन्वयमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा समुदायमा आधारित पहुँच विस्तार गर्ने रणनीति अपनाइने बताए।
कार्यक्रमले सरोकारवाला निकायहरूबीच सहकार्य, समन्वय र उत्तरदायित्वलाई अझ मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको छ। साथै जोखिममा रहेका समुदायहरूको अधिकार, सम्मान र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालय मकवानपुर, एआरटी सेन्टर हेटौंडा अस्पताल, परिवार नियोजन संघ लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै रिकभरीङ नेपाल वुमन्स महासंघ र अन्य साझेदार संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन रिकभरीङ नेपालका प्रादेशिक फोकल पर्सन मनिश मान श्रेष्ठले गरेका थिए।









