नतिजा शून्य ल्याउने विद्यालयलाई चेतावनी: सुधार नगरे कारबाही

हेटौंडा। गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका मकवानपुरका ७ विद्यालयका प्रतिनिधिसँग नतिजा सुधारका लागि आइतबार महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  उक्त छलफलमा आगामी एसइई परीक्षामा सुधार ल्याउने उपायबारे बहस गरिएको हो।

गत वर्ष जिल्लामै शून्य नतिजा ल्याउने थाहा नगरपालिका–७ आग्रास्थित सुन्दरीदेवी मावि, राक्सिराङ गाउँपालिकाका वडा नं. ४ को कालिका मावि, वडा नं. ८ का श्री माध्यमिक विद्यालय र प्रजा जागृति मावि, मनहरी गाउँपालिका–२ को सीता मावि, तथा बकैया गाउँपालिका–३ र १० का कालिका मावि र प्रसिद्ध माविका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू कार्यक्रममा सहभागी भएका थिए।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुदीप गिरी र जिल्ला समन्वय समिति प्रमुख ललित घलानले संयुक्त रूपमा विद्यालयका समस्या, विगत नतिजाका कारण र सुधारका सम्भावित उपायबारे छलफल गरेका थिए।

विद्यालय प्रतिनिधिहरूले विषयगत शिक्षकको अभाव, भौगोलिक विकटता, गरिबी, तथा ग्रामीण क्षेत्रमा व्याप्त बालविवाहजस्ता सामाजिक समस्याले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर परेको गुनासो गरेका थिए। केही प्रधानाध्यापकहरूले स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा शाखाको कमजोर निगरानी र जिम्मेवारी अभावलाई पनि कमजोर नतिजाको कारणका रूपमा औंल्याए।

शिक्षक र विद्यार्थीबीचको दूरी, विद्यालयमै बसोबासको समस्या तथा पढाइप्रति घट्दो आकर्षणले पनि नतिजा सुधारमा चुनौती थपेको उनीहरूको भनाइ थियो। केही विद्यालयले विद्यार्थीलाई विद्यालयमै राखेर पढाइ गराइरहे पनि उत्साहजनक नतिजा आउनेमा अझै आशंका रहेको बताए।

कार्यक्रममा सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले अबको एसइईमा सुधार ल्याउन केवल शिक्षकको अभाव मात्र नभई प्रविधि र इन्टरनेटको उपयोग गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। “शिक्षकले पढाउनै पर्छ, विद्यार्थीलाई पास गराउनै पर्छ,” भन्दै उनले कडा चेतावनीसमेत दिए।

उनले नैतिक जिम्मेवारीको आधारमा प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष र शिक्षकहरूले परीक्षाफलको उत्तरदायित्व लिनुपर्ने उल्लेख गर्दै आगामी नतिजा पनि शून्य आए कडा कदम चालिने संकेत गरे।

बैठकअघि नै विद्यालयहरूबाट लिखित रूपमा नतिजा विश्लेषण र सुधार योजनासहितको प्रतिवेदन मागिएको थियो। अधिकांश विद्यालयले शिक्षक अभावलाई मुख्य कारणका रूपमा उल्लेख गरेका थिए।

एसइई परीक्षा नजिकिँदै गर्दा प्रशासनको यस्तो सक्रियता र कडाइले यस वर्षको नतिजामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.