हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा एकल महिलाका लागि छुट्याइएको स्वरोजगारमूलक तालिमको बजेट परिचालनलाई लिएर विवाद उत्पन्न भएको छ। वडा कार्यालयले स्थानीय एकल महिला समूहसँग समन्वय नगरी ‘ग्रामीण महिला सेवा केन्द्र’ लाई तालिम सञ्चालनको जिम्मा दिएको भन्दै समूहले विरोध जनाएको हो।
मानव अधिकारका लागि एकल महिला समूह वडा समितिले आफ्नो क्षेत्रका एकल महिलाका लागि विनियोजित आयआर्जन बजेटबारे वडा कार्यालयले कुनै पूर्वजानकारी नदिएको आरोप लगाएको छ। सोमबार वडाका एकल महिलाहरूको भेला गरी आवश्यक सीपका बारेमा छलफल गर्ने क्रममा वडा अध्यक्ष पेम्बा लामाले तालिमको सम्झौता भइसकेको जानकारी दिएपछि विवाद सतहमा आएको हो।
समूहकी जिल्ला अध्यक्ष शारदा चौलागाईंका अनुसार वडाका महिलाहरूलाई कस्तो सीपको आवश्यकता छ भन्ने विषयमा छलफल हुनुपूर्व नै संस्था छनोट र सम्झौता गरिनु न्यायोचित छैन।
वडा अध्यक्ष पेम्बा लामाले वडा सदस्य सानुमाया वि.क.को समन्वयमा गत फागुन १२ गते नै तालिमका लागि सम्झौता भइसकेको बताएका छन्। उक्त कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यता ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्ताङले ७ दिने ‘बुकी बनाउने’ तालिमका लागि सम्झौता भएको र यसबाट २० जना एकल महिला लाभान्वित हुने जानकारी दिइन्।
एकल महिला समूह १३ नम्बर वडाकी अध्यक्ष विष्णु कुमारीले वडा कार्यालयको कार्यशैलीप्रति दुःख व्यक्त गरेकी छिन्। आफूहरूले प्रत्येक महिना वडामै खुला बैठक बस्ने गरेको भए पनि वडाले लक्षित वर्गलाई नै थाहा नदिई कार्यक्रम सम्झौता गरेको उनको गुनासो छ।
अहिले लक्षित वर्गको आवश्यकता भन्दा पनि संस्था केन्द्रित भएर बजेट बाँडफाँड गरिएको भन्दै स्थानीय एकल महिलाहरूले असन्तुष्टि पोखिरहेका छन्।











